बीवाईडी गाडी आयातबारे साइमेक्स इंकले भन्यो-कर छल्न खोजेको आरोप निराधार
काठमाडाैं। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधनहरूको विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा चासो एवं विभिन्न टिकाटिप्पणीहरू सृजना भएपछि नेपालका लागि बीवाईडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै भ्रम निवारणका लागि आयात सम्बन्धी तथ्यगत विवरण सार्वजनिक गरेको छ। आधिकारिक तथ्यांक अनुसार कम्पनीले मुस्ताङको कोराला भन्सार र रसुवा भन्सार हुँदै प्रचलित कानुनी प्रक्रिया पूरा गरेर मात्र गाडीहरू नेपाल भित्र्याएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार कोराला भन्सार, मुस्ताङतर्फ मे २२ देखि मे २७ सम्ममा चीनबाट निकासी घोषणा भई नेपाल भन्सारबाट जाँचपास भएका कुल ६४९ वटा गाडीहरू आयात गरिएका छन्, जसमा एट्टो १ (Atto 1) र एट्टो २ (Atto 2) मोडलका सवारीसाधनहरू रहेका छन्।
त्यसैगरी, रसुवा भन्सारतर्फ मे ६ देखि मे २५ सम्मको चिनियाँ भन्सार घोषणा तथा मे १८ देखि मे २७ सम्मको नेपाल भन्सार जाँचपास प्रक्रिया मार्फत एट्टो १, एट्टो २, एट्टो ३ र सिलियन ७ (Sealion 7) मोडलका गरी जम्मा ४७२ वटा सवारीसाधनहरू पूर्ण रूपमा वैधानिक ढङ्गले आयात गरिएका छन्।
यी दुई भन्सार विन्दुबाट जाँचपास भएकाबाहेक अन्य २२६ वटा सवारीसाधनहरू चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए तापनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सुरु वा सम्पन्न नभएको कम्पनीले प्रष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका यी सम्पूर्ण सवारीसाधनहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रिया अनुसार नै पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्।
साइमेक्स इंकले गाडी आयातको कुनै पनि चरणमा सरकारबाट विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा कुनै पनि किसिमको अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो व्यवस्थाका लागि कुनै अनुरोध समेत नगरेको दाबी गरेको छ।
नेपाली बजारमा ग्राहकहरूबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण सोही प्रतिबद्धता पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्नका लागि यी गाडीहरू आयात गरिएका हुन्।
यी सम्पूर्ण आयात कार्यहरू बीवाईडी कम्पनीको उत्पादन तालिका, अन्तर्राष्ट्रिय ढुवानीको उपलब्धता, कम्पनीको नियमित व्यावसायिक योजना तथा यातायात व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राखेर नियमित रूपमा सम्पन्न गरिएका हुन्।
त्यसैले, सरकारी निकायसँग पूर्व समन्वय गरी कर परिवर्तनको आर्थिक लाभ लिन खोजेको वा कुनै अनुचित फाइदा उठाएको भन्ने आरोपहरू पूर्णतः निराधार, असत्य र कम्पनीको स्थापित प्रतिष्ठामा आघात पुर्याउने कलुषित उद्देश्यबाट प्रेरित रहेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले राज्यका तर्फबाट हुने कुनै पनि वैधानिक अनुसन्धान वा छानबिन प्रक्रियालाई खुला हृदयले स्वागत गर्ने घोषणा गरेको छ। सत्यतथ्य स्थापित गर्नका लागि आवश्यक पर्ने आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशका कागजात, एलसी तथा भुक्तानी विवरण र जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेजहरू सम्बन्धित सरकारी निकायलाई जुनसुकै समयमा उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।
जिम्मेवारीपूर्ण समाचार सम्प्रेषणका लागि अपिल गर्दै कम्पनीले आधिकारिक अभिलेख र आधिकारिक निकायबाट तथ्य पुष्टि नगरी केवल अनुमानका भरमा निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने खालका सामग्री प्रकाशन नगर्न सञ्चारमाध्यम र सरोकारवालाहरूलाई विनम्र अनुरोध गरेको छ।
नेपालको क्लिन इनर्जी रूपान्तरण, वातावरणीय लक्ष्य प्राप्ति र इन्धन आयात न्यूनीकरणमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको सन्दर्भमा यस क्षेत्रको सार्वजनिक विश्वास जोगाउन तथ्यमा आधारित बहस आवश्यक रहेको र सम्बन्धित निकायहरूको अध्ययनले छिट्टै नै हाल फैलाइएका गलत सूचनाहरूको अन्त्य गर्नेमा कम्पनी पूर्ण रूपमा विश्वस्त रहेको छ।







डिसी नेपाल







Facebook Comment