व्यास नगरपालिकाको कडा कदम: सार्वजनिक जग्गा र सडकपेटीका अवैध संरचना ३५ दिनभित्र हटाउन निर्देशन
तनहुँ। तनहुँको व्यास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका सबै प्रकारका भौतिक संरचनाहरू तत्काल हटाउन सार्वजनिक आग्रह गरेको छ।
नगरपालिकाले सोमबार एक आधिकारिक सूचना प्रकाशित गर्दै सडकको अधिकार क्षेत्र (राइट अफ वे) तथा सर्वसाधारण हिँड्ने सडकपेटी नै अवरुद्ध हुने गरी बनाइएका पक्की घरका संरचना, बरन्डा तथा टिनका टहराहरू हटाउन निर्देशन दिएको हो।
नगर कार्यपालिकाको गत जेठ २२ गते बसेको २३८ औँ बैठकको विशेष निर्णय बमोजिम यो ३५ दिने सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाका इन्जिनियर अमृत केसीले जानकारी दिए।
नगरपालिकाले तोकेको यस ३५ दिनको सीमाभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू सम्बन्धित घरधनी आफैँले भत्काएर वा हटाएर सहरी व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरेको छ।
यदि स्थानीय घरधनी तथा सरोकारवालाहरूले तोकिएको समयसीमा भित्र आफ्ना अवैध संरचनाहरू नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यस्ता संरचनाहरू भत्काउने र सोको खर्च समेत सम्बन्धित पक्षबाटै असुल गरिने सूचनामा उल्लेख छ।
इन्जिनियर केसीले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु सबै नगरवासीको साझा दायित्व र कर्तव्य भएकाले सहरलाई सुन्दर र व्यवस्थित बनाउने नगरपालिकाको यस अभियानमा स्वतःस्फूर्त रूपमा सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेका छन्।







डिसी नेपाल







Facebook Comment