गायिका मीरा राणा र संगीतकार सीके रसाईलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ प्रदान
काठमाडाैं। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८२’ सम्पन्न भएको छ।
ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित एक विशेष समारोहकाबीच वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सीके रसाईलीलाई सो सम्मान प्रदान गरिएको हो। प्रतिष्ठानका अनुसार उहाँहरू दुवै जनालाई जनही नगद १ लाख १ रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको छ।
नगद पुरस्कार प्राप्त गरेकी वरिष्ठ गायिका मीरा राणाले आफू स्वयम् क्यान्सर सङ्क्रमित भई निको भएको (सर्भाइभर) जानकारी दिँदै पुरस्कार स्वरूप पाएको उक्त रकम क्यान्सर समाजका लागि हस्तान्तरण गरिन्।
उनकै विशेष पहलमा क्यान्सर रोग लागेका कलाकारहरूलाई सहयोग पुर्याउने पवित्र उद्देश्यका साथ हालै मात्र क्यान्सर समाजको स्थापना गरिएको समेत राणाले सो अवसरमा बताए।
समारोहमा स्वास्थ्योपचार गराइरहेका र सङ्गीत क्षेत्रमा क्रियाशील कलाकारहरूलाई ढाडस दिने उद्देश्यले प्रदान गरिँदै आएको जनही ५० हजार रुपैयाँ राशिको ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ पनि वितरण गरिएको छ ।
यस वर्ष सो सम्मान वरिष्ठ सङ्गीतकार तथा गिटारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरियो। यी सबै सम्मानहरू भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले लामो समयदेखि कला र सङ्गीतको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने सिटी एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रतिष्ठानलाई निरन्तर साथ दिँदै आएको छ।
विगत १९ वर्षदेखि संसारभरबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हालै मात्र ‘सिटी पे वालेट’ मार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानीको नयाँ सेवासमेत सञ्चालनमा ल्याएको छ।







डिसी नेपाल







Facebook Comment