रास्वपाको पहिलो महाधिवेशन चितवनमा: तीनवटा निर्वाचनको सुखद परिणामले आधार क्षेत्र प्रमाणित

डिसी नेपाल
५ असार २०८३ १९:३९

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन जिल्लालाई आफ्नो मुख्य उद्गम थलो र बलियो राजनीतिक आधार क्षेत्रका रूपमा स्थापित गरेको छ।

वि.सं. २०७९ असार ७ गते स्थापना भएको रास्वपाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशकै दिन अर्थात् यही असार ७ गतेदेखि चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सुरु गर्दैछ।

प्रतिनिधिसभामा दुईतिहाइ नजिक बहुमत सदस्य रहेको यस पार्टीको तीनदिने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, शुभचिन्तक र नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति हुने भएकाले यसलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।

पार्टीका केन्द्र तथा जिल्ला तहका नेताहरूले चितवनलाई उद्गम थलो मान्नुका पछाडि पार्टी सभापति रवि लामिछानेले यहाँबाट प्राप्त गरेको निरन्तर र अपार जनसमर्थन मुख्य कारण रहेको छ। सभापति लामिछानेको गृहजिल्ला चितवन नभए पनि चुनावी राजनीतिका हिसाबले यो क्षेत्र रास्वपाको अभेद्य गढ बनेको छ।

विगतमा एक घटना विशेषका कारण हिरासतमा रहँदा सिङ्गो चितवनवासीले देखाएको सहानुभूति र नारायणी नदी किनारमा उर्लिएको जनसागर नै लामिछानेका लागि राजनीतिमा होमिने र चितवनसँग जोडिने मुख्य प्रेरणाको स्रोत बनेको स्थानीय नेताहरूको भनाइ छ।

चितवनवासीको यही प्रेमका कारण सभापति लामिछाने निर्वाचन क्षेत्र नं. २ बाट लगातार तीनपटक भारी मतका साथ विजयी भइसकेका छन्। वि.सं. २०७९ को आमनिर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत ल्याएर तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका थिए।

पछि सांसद पद निलम्बन भई रिक्त भएको सोही क्षेत्रमा वि.सं. २०८० मा भएको उपनिर्वाचनमा उनले मत वृद्धि गर्दै ५४ हजार २७६ मत ल्याएर कांग्रेसका जीतनारायण श्रेष्ठलाई भारी मतान्तरले पराजित गरेका थिए।

त्यसैगरी, हालै वि.सं. २०८२ मा सम्पन्न संसदीय निर्वाचनमा सभापति लामिछानेले अघिल्ला दुवै रेकर्ड तोड्दै ५४ हजार ४०२ मत प्राप्त गरे भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मीना खरेल १४ हजार ५६४ मतमा सीमित भइन्।

निर्वाचनपिच्छे उकालो लाग्दै गएको मतको यो ग्राफले चितवन रास्वपाको आधारभूमि भएको पुष्टि गर्ने नेताहरूको तर्क छ। रास्वपा चितवनका सभापति मिनिमाधव खनाल र निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषालका अनुसार चितवनवासीले दर्शाएको अपार मायाकै कारण लामिछानेले राजनीति रोजेका हुन्।

पहिलो निर्वाचनमा जिल्लाका दुईवटा क्षेत्र जितेको रास्वपाले पछिल्लो निर्वाचनमा जिल्लाका तीनवटै क्षेत्र क्लिन स्विप गर्न सफल हुनुले पनि चितवन नै पार्टीको उद्गमस्थल भएको बलियो प्रमाण दिन्छ।

रास्वपाका केन्द्रीय सदस्य एवं सभापति लामिछानेका चुनावी कमाण्डर राजन गौतमका अनुसार तदर्थ समितिबाट सुरु भएको पार्टीले छोटो समयमै निर्वाचन जितेर दुईतिहाइ नजिक पुग्नु विश्व राजनीतिमै एक विरलै घटना हो।

गत फागुन १५ गते चुनावी प्रचारका क्रममा पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेको विशेष मञ्च (स्टेज) मै उभिएर रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन गर्न लागेको जानकारीसमेत नेता गौतमले दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *