रास्वपा महाधिवेशनमा विद्युतीय मतदान: विदेशबाटै एपमार्फत भोट हाल्न मिल्ने, यस्तो छ निर्वाचन तालिका

डिसी नेपाल
६ असार २०८३ ७:४०

चितवन। चितवनमा हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा प्रविधिको उच्च प्रयोग गर्दै विद्युतीय मतदानको व्यवस्था मिलाइने भएको छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा सहभागी मतदाताहरूले विद्युतीय उपकरण (भोटिङ मेसिन) मा उम्मेदवारहरूको नाम र फोटोमा छोएर सजिलै मतदान गर्न सक्नेछन्।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ, जसमा प्रवासमा रहेका र भौतिक रूपमा उपस्थित हुन नसक्ने १७० जना प्रतिनिधिहरूका लागि रास्वपाको आफ्नै आधिकारिक एपमार्फत विदेशबाटै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइँदै छ।

निर्वाचन प्रक्रिया दुई चरणमा सम्पन्न हुने गरी कार्यतालिका निर्माण गरिएको छ। पहिलो चरणको मतदान प्रक्रिया आगामी असार ८ गते दिउँसो २ बजे उम्मेदवारी मनोनयन दर्तासँगै सुरु भएर सोही दिन साँझबाट मतदान सुरु गरिनेछ।

पहिलो चरणमा एक जना पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ, जसका लागि करिब छ घण्टा लाग्ने अनुमान छ। असार ८ गते रातिसम्म पहिलो चरणको मतदान र गणना सकिएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते आयोजना गरिनेछ।

दोस्रो चरणको निर्वाचनमा पहिलो चरणबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्ता महत्वपूर्ण पदाधिकारीहरूको चयन गरिनेछ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख केसीसहित १० जना सदस्यहरू क्रियाशील रहेका छन्। निर्वाचन निष्पक्ष र पारदर्शी होस् भन्नका लागि आयोगका प्रमुख र सदस्यहरू आफैँले उम्मेदवारी दिन नपाउने नियम बनाइएको छ।

यद्यपि उनीहरूलाई मतदान गर्ने अधिकार भए तापनि निर्वाचनलाई पूर्ण रूपमा तटस्थ र विश्वसनीय बनाउन आफूहरूले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको निर्वाचन आयोगका प्रमुख केसीले प्रष्ट पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *