रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरु, महाधिवेशनका एजेन्डा पारित गरिँदै

डिसी नेपाल
६ असार २०८३ १६:०७

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने उद्देश्यका साथ आज चितवनको भरतपुरमा केन्द्रीय समितिको अन्तिम औपचारिक बैठक सुरु गरेको छ। दियालो फुडल्यान्डमा जारी यस बैठकले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक एजेन्डाहरूलाई अनुमोदन गर्नेछ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई मुख्य प्राथमिकतामा राखेको छ। विधान संशोधनमार्फत केन्द्रीय समितिको आकार बढाउने र पार्टीभित्र महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तयारी रास्वपाले गरेको छ।

प्रवक्ता मनिष झाका अनुसार, सचिवालयले यसअघि तयार पारेका विभिन्न एजेन्डाहरूमाथि आजको बैठकमा विस्तृत छलफल हुने र ती एजेन्डाहरू महाधिवेशनमा पेस गरिनेछ। महाधिवेशनबाट अनुमोदन भएपछि मात्र यी निर्णयहरूले आधिकारिक रूपमा कार्यान्वयनको मार्ग प्रशस्त गर्नेछन्।

बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावलीसमेत पारित गर्नेछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्राविधिक कारणवश केही ढिलो गरी सुरु भएको हो। प्रवक्ता झाले आजको बैठकलाई पार्टीको औपचारिक अन्तिम बैठक भएको बताउँदै अबका बाँकी कामहरू अनौपचारिक छलफलका माध्यमबाट अघि बढ्ने जानकारी दिए।

महाधिवेशनका लागि चितवनमा देशभरबाट नेता तथा प्रतिनिधिहरूको आगमन बाक्लिएको छ। आइतबारबाट औपचारिक रूपमा सुरु हुने महाधिवेशन रास्वपाको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्ने सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *