गुमनामबाट गुल्जार बन्दै अन्नपूर्ण आधार शिविर: पूर्वाधारभन्दा पर्यटक धेरै भएपछि पालमुनि बास

डिसी नेपाल
७ असार २०८३ ७:३५

म्याग्दी। झन्डै १६ वर्षअघिसम्म पर्यटकीय पहिचानको अभावमा ओझेलमा परेको अन्नपूर्ण हिमालको आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण गुल्जार बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र यसको आधार शिविर क्षेत्रको पहिचान, पदमार्ग निर्माण तथा प्रवर्द्धनात्मक कार्यक्रम भएसँगै यहाँ पर्यटकको चहलपहल निकै बढेको हो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार सहज र छोटो दूरीको पदयात्रा गरेर पुग्न सकिने भएकाले यो क्षेत्र विशेष गरी आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेको छ। अहिले आधार शिविरमा पूर्वाधारको क्षमताले धान्नै नसक्ने गरी पर्यटकहरू आउन थालेका छन्।

विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्छ भन्ने तथ्य धेरैलाई जानकारी नै थिएन र कास्कीतर्फ मात्रै यसको आधार शिविर रहेको विश्वास गरिन्थ्यो। सन् २०१२ मा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग अन्नपूर्णको फेदी नारच्याङमा आएका बेला उनले आरोहणका क्रममा प्रयोग गरेको बाटो र आधार शिविरको भूगोलबारे स्थानीयलाई जानकारी गराएका थिए।

त्यसपछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङको नेतृत्वमा स्थानीय टोलीले निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार काठका पुलहरू बनाउँदै सात दिन लगाएर यस पदमार्गको खोज अनुसन्धान गरेको थियो।

सोही मार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नक्सांकन गरी ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरेको हो। तीन वर्षअघिदेखि व्यवस्थित रूपमा सञ्चालनमा आएको यो मार्ग यतिबेला पर्यटकका लागि आकर्षक ‘भर्जिन’ गन्तव्य बनेको छ।

समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा रहेको आधार शिविर क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्दछ। एक्यापको नियमानुसार स्थायी भौतिक संरचना बनाउन सरकारी अनुमति आवश्यक पर्ने भएकाले व्यवसायीहरूले हाल ५० जना क्षमताको अस्थायी रेस्टुरेन्ट टहरा सञ्चालन गरिरहेका छन्।

तर, वसन्त र शरद ऋतुको पर्यटकीय याममा दैनिक २०० जनाभन्दा बढी पर्यटक आउने गरेकाले व्यवसायीहरूले होटलको क्षमताभन्दा चार-पाँच गुणा बढी पाहुनालाई टेन्ट र पालमुनि राखेर बसोबासको व्यवस्था मिलाउनुपरेको स्थानीय होटल व्यवसायी माइकल पुन बताउँछन्।

तीन वर्षअघिसम्म वसन्तयाममा हेलिकप्टरमार्फत आरोही मात्र पुग्ने यस ठाउँमा अहिले नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र त्यहाँबाट आधार शिविरसम्म २२ किलोमिटरको आधारभूत पदमार्ग तयार भइसकेको छ।

मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला र दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्दै दुई दिनमै आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिने यो क्षेत्रको भूगोल निकै अनौठो र समथर छ।

आधार शिविरको मुख्य विशेषता भनेको त्यहाँबाट अन्नपूर्ण हिमालसँगै त्यसकै मुनि ४ हजार ५० मिटर उचाइमा रहेको १ लाख ७ हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको प्राकृतिक हिमताल ‘पञ्चकुण्ड ताल’ लाई एकैसाथ अवलोकन गर्न पाउनु हो।

यसका साथै आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक तथा हालसम्म अन्नपूर्ण आरोहण गरेका ५३६ जनाको नामावली अंकित ताम्रपत्रसहितको खुला सङ्ग्रहालय निर्माण गरिएको छ।

पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा सञ्चार, विद्युत्, स्वास्थ्य सुविधा र फोहोर व्यवस्थापनको भने ठुलो चुनौती थपिएको छ, जसका कारण लेक लाग्ने (अल्टिच्युड सिकनेस) बिरामीहरूको तत्काल उद्धार गर्न र झोलुङ्गे पुलहरूको स्तरोन्नति गर्न अब राज्यले थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *