रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू चितवनमा

डिसी नेपाल
७ असार २०८३ १३:४४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको अवसर पारेर आजदेखि चितवनको भरतपुरमा सुरु हुन लागेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ।

रास्वपाले आफ्नो महाधिवेशनलाई भव्य बनाउन राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेसँगै चितवनमा राजनीतिक नेताहरूको ठूलो जमघट सुरु भएको हो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने कार्यतालिका छ।

महाधिवेशनमा भाग लिन पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि चितवन पुगिसकेको त्यहाँस्थित सञ्चारकर्मीहरूले जनाएका छन्।

राप्रपा अध्यक्ष लिङ्देन आज बिहानै प्रधानमन्त्री सवार जहाजमै चितवन पुगेका हुन्। पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा आयोजित यस ३ दिने महाधिवेशनमा सहभागी हुन रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह पनि आफ्नो परिवारसहित काठमाडौँबाट चितवन प्रस्थान गरिसकेका छन्।

आज अपराह्न २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा निर्मित विशेष जर्मन प्रविधिको डोम (हङ्गर टेन्ट) भित्र प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनका लागि देशभरका ७७ वटै जिल्ला तथा विदेशस्थित डायस्पोराबाट गरी करिब ३ हजारदेखि ३ हजार ५०० सम्म प्रतिनिधि र पर्यवेक्षकहरू चितवन आइपुगेका छन्।

उद्घाटन सत्रपछि हुने बन्द सत्रका लागि चितवन उद्योग संघको प्रदर्शनी कक्षको हल व्यवस्थापन गरिएको छ, जहाँ नयाँ विधान पारित गर्ने र नयाँ नेतृत्व चयनका लागि विद्युतीय प्रणाली (इलेक्ट्रोनिक भोटिङ) मार्फत मतदान गराउने तयारी पूरा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *