रास्वपा महाधिवेशन: पुरानाको सुझाव, नयाँको संकल्प

डिसी नेपाल
७ असार २०८३ १९:३३

रास्वपाको चितवन महाधिवेशन र राजनीतिक तरङ्ग: पुरानाको संशय र नयाँको ‘एक्सप्रेस वे’ रफ्तार

काठमाडाैं। नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ र शक्तिशाली परिघटनाका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ठीक चार वर्ष पूरा गरी आफ्नो उद्गम थलो चितवनको भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशनमा होमिएको छ।

आइतबारदेखि सुरु भएको यस महाधिवेशनले केवल रास्वपाको आन्तरिक जीवनलाई मात्र चलायमान बनाएको छैन, सिंगो देशको राजनीतिक वृत्तमा नयाँ बहस र तरङ्ग समेत पैदा गरिदिएको छ।

नारायणगढको गेस्टहाउस चौरमा तयार पारिएको अत्याधुनिक जर्मन ह्याङ्गर टेन्ट र भरतपुरका सडकहरूमा फहराएका निलो झण्डाहरूले महाधिवेशनको भव्यता र रास्वपाको बढ्दो राजनीतिक आयतनलाई प्रष्ट रूपमा प्रतिविम्बित गर्थे।

देश तथा विदेशबाट आएका करिब ४ हजार २ सय प्रतिनिधिहरूको बाक्लो उपस्थिति र आम नागरिकको अभूतपूर्व चासोका बीच उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिने क्रममा विचारको रोचक जुहारी नै चल्यो।

प्रमुख दलका शीर्ष नेताका मन्तव्य र संशयको राजनीति

महाधिवेशनको मञ्चमा प्रमुख दलका नेताहरूले रास्वपाको लोभलाग्दो उदयलाई स्वीकार गरे पनि उनीहरूको अभिव्यक्तिमा नयाँ शक्तिप्रतिको आशंका र केही नीतिगत खबरदारी प्रष्ट देखिन्थ्यो।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नै विगतको कमजोरी खोतल्दै रास्वपालाई गम्भीर सुझाव दिए। विगतमा कांग्रेसले आफ्ना नेताहरूलाई ‘दाइ’ वा ‘बा’ भनेर प्रश्नभन्दा माथि राख्दा देशमा सुशासन कमजोर भएको आत्मसमीक्षा गर्दै उनले रास्वपाका कार्यकर्तालाई आफ्नै नेतृत्वविरुद्ध प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे।

पार्टीभित्रको विकृतिविरुद्ध लड्न नसक्नेले देश सुधार्न नसक्ने तर्क गर्दै उनले भने, “हामीले पनि नसच्चिएपछि पार्टीभित्रै विद्रोह गरेका हौँ। बाहिर लड्नुभन्दा पार्टीभित्र लड्न गाह्रो हुन्छ।”

थापाले चितवनको भूमि र इतिहासको प्रसंग जोड्दै नयाँ पुस्तालाई इतिहासको अवमूल्यन नगर्न सचेत गराए। वि.सं. २०१८ सालमा यही चितवनको माटोमा लोकतन्त्र माग्दा ५० जनाको हत्या गरिएको इतिहास स्मरण गराउँदै उनले थपे, “निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो इतिहास र सहिदको रगत पनि छ भन्ने सम्झनुपर्छ।”

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सुशासन र समाज रूपान्तरणको एजेण्डामा रास्वपा र आफ्नो दल सबैभन्दा निकट रहेको दाबी गरे। तर, उनले सुशासनका नाममा चालिने कदमहरू सधैँ संविधान र विधिको दायराभित्र हुनुपर्ने भन्दै सचेत गराए।

बहुमत र सत्ताको संख्या सधैँ अस्थायी हुने यथार्थ राख्दै पुनले रास्वपालाई एउटा महत्वपूर्ण राजनीतिक पाठ सिकाए, “हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज तपाईंहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता।” उनले रास्वपालाई सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति अझ उच्च तहको प्रतिबद्धता देखाउन आग्रह गर्दै नयाँ शक्तिमाथिका आशंकाहरू चिर्न सुझाव दिए।

महाधिवेशनमा सबैभन्दा बढी ध्यानाकर्षण रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्बोधनले खिच्यो। पुराना दलका नेताहरूले व्यक्त गरेका चिन्ता र जनमतको अस्थिरतासम्बन्धी टिप्पणीलाई उनले आफ्नै चिरपरिचित आक्रामक र तार्किक शैलीमा जवाफ दिए।

सरकारलाई गाडीसँग तुलना गर्दै प्रधानमन्त्री शाहले भने, “गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ र ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वे मा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।” उनले रास्वपाको यो यात्रा अनियन्त्रित नभई पूर्ण रूपमा योजनाबद्ध र जनअपेक्षाको जगमा अडिएको दाबी गरे।

जनताको मत हावाको दिशाजस्तै बदलिने पुराना दलहरूको भाष्यलाई ठाडै अस्वीकार गर्दै उनले भने, “हामीले कुनै हावा उडाएका छैनौं। हामीले त बाढी ल्याएर खोला फर्काएका हौं। त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ।”

यसैगरी, राष्ट्रियता र सीमा विवादका सन्दर्भमा पुराना दलहरूले उठाउने गरेका विषय र कतिपय कमजोरीप्रति लक्षित गर्दै उनले छिमेकीसँगको सीमा मिचिने कुरामा कुनै सम्झौता नहुने स्पष्ट पारे। कांग्रेस र अन्य दलले उठाएका छिमेकी नीति र सीमा रक्षाका विषयमा रास्वपा पनि उत्तिकै दृढ रहेको र राष्ट्रिय हितका मुद्दामा राष्ट्रिय सहमति र बलियो अडानका साथ सरकार अघि बढ्ने संकेत उनले दिए।

समारोहको अन्त्यमा रास्वपा सभापति रवि लामिछानेले मञ्चमा उठेका सबै प्रश्न, आशंका र सुझावहरूको विस्तृत एवं रणनीतिक जवाफ दिए। उनले रास्वपा गैरराजनीतिक पृष्ठभूमिबाट आएका आम नागरिकहरूको एउटा विवशता र बाध्यताको साझा मञ्च भएको बताए।

आफूहरूले टेलिभिजनको पर्दादेखि जेलको कालकोठरीसम्मबाट नागरिकका आवाज उठाउँदा पनि कसैले नसुनिएकै कारण आज यो नयाँ शक्ति निर्माण भएको उनको प्रष्टोक्ति थियो।

सभापति थापाले उठाएको ‘नेतृत्वलाई प्रश्न गर्ने’ विषयलाई स्वीकार गर्दै उनले रास्वपा आन्तरिक लोकतन्त्रमा सबैभन्दा अगाडि रहेको र पुराना दलहरू जस्तो नातावाद वा गुटबन्दीमा नअल्झिने स्पष्ट पारे। तर, कांग्रेस र एमालेभित्र देखिएका आन्तरिक अप्ठ्याराहरूले समग्र देशलाई नै संकटमा पार्न सक्ने चेतावनी दिँदै उनले बरु ती पुराना दलहरूलाई आफ्ना आन्तरिक समस्या सुल्झाउन शुभकामना दिए।

थापाले उठाएको ‘रातो रगत र निलो झण्डा’ को ऐतिहासिक प्रसंगलाई निकै परिपक्व ढंगले सम्बोधन गर्दै लामिछानेले भने, “यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन।

त्यो कदम कदापि चाल्ने छैनौँ, रास्वपाले त्यो लाइन क्रस गर्दैन।” उनले पुराना आन्दोलनका उपलब्धिहरू– लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार र समावेशिता अघिल्लो पुस्ताले दिएको अमूल्य उपहार भएको र रास्वपाले यसलाई तोड्ने नभई अझ बढी माया र जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले रास्वपा अब कसैले लडाएर लड्न नसक्ने गरी शक्तिशाली भइसकेको दाबी गरे। यद्यपि, शक्तिशाली हुनुको अर्थ दम्भ देखाउनु वा प्रतिशोध साध्नु नभएको प्रष्ट पार्दै उनले नागरिकलाई आश्वस्त पारे, “निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ र हामी नागरिक जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौँ।”

रास्वपाको पहिलो चितवन महाधिवेशनले नेपाली राजनीतिमा एउटा स्पष्ट विभाजन र नयाँ चेतना रेखा कोरेको छ। पुराना दलहरू अझै पनि नयाँ शक्तिको जग, इतिहासप्रतिको दृष्टिकोण र वैचारिक निष्ठामाथि प्रश्न उठाइरहेका छन् भने नयाँ शक्ति आफू पुरानो भत्किएको संरचनालाई मर्मत गर्न नभई नयाँ ‘एक्सप्रेस वे’ निर्माण गर्न आएको दाबी गरिरहेको छ।

यो महाधिवेशनले रास्वपालाई केवल परम्परागत पार्टी संरचनामा मात्र रूपान्तरण गरेको छैन, बरु यसले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको वर्चस्वलाई विस्थापित गर्दै देश अब पूर्ण रूपमा नयाँ गति, सुशासन र परिणाममुखी बाटोमा अघि बढिसकेको बलियो सन्देश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *