रास्वपा महाधिवेशनको दोस्रो दिन: व्यवस्थापकीय व्यस्तताले बन्द सत्र सुरु हुन ढिलाइ

डिसी नेपाल
८ असार २०८३ १२:१२

चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज नीतिगत र सांगठनिक विषयमाथि केन्द्रित बन्द सत्रमा भाग लिन रास्वपाका सांसद तथा प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्।

महाधिवेशनको यस महत्त्वपूर्ण बन्द सत्रमा पार्टीको भावी सांगठनिक ढाँचा, राजनीतिक दस्तावेज तथा आगामी कार्यदिशासम्बन्धी विषयमा सघन छलफल गर्ने तयारी छ। यद्यपि, प्राविधिक र व्यवस्थापकीय तयारीका कारण पूर्वघोषित कार्यतालिकाभन्दा केही ढिलो गरी मात्र बन्द सत्रका प्रक्रियाहरू अघि बढिरहेका छन्।

पूर्वघोषित तालिकाअनुसार आज बिहान ८:३० बजे नै पार्टी सभापति रवि लामिछानेले दोस्रो दिनको सत्र प्रारम्भ गर्ने र विभिन्न प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको थियो। तर, दिउँसो ३ घण्टाभन्दा बढी समय बित्दासम्म पनि बन्द सत्र औपचारिक रूपमा सुरु हुन सकेको थिएन।

महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक सूची प्रकाशन गरिएकोमा धेरैजसो प्रतिनिधिहरूको विवरण रुजु गर्न अझै बाँकी रहेकाले र प्रतिनिधि व्यवस्थापनमा समय लागेकाले सत्र सुरु हुन ढिलाइ भएको बुझिएको छ।

आजको बन्द सत्रमा पार्टीको विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरूको प्रस्तुति तथा पारित गर्ने र नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका मुख्य कार्यसूची तय गरिएका छन्।

बन्द सत्र सुरु हुन ढिलाइ भए पनि पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरू तालिकाभित्रकै व्यवस्थापकीय काममा व्यस्त रहेको र पूर्वघोषित कार्यतालिकाअनुसार भोलि मंगलबार बेलुकाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्ने गरी तयारी भइरहेको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले प्रतिनिधिहरूको खाजा समय सकिएपछि लगत्तै सत्र सुरु हुने र प्रतिवेदनउपर छलफल सकेर तुरुन्तै निर्वाचन तालिकामा प्रवेश गर्ने जानकारी दिए।

उनका अनुसार निर्वाचनका प्राविधिक कामहरू बिहानैदेखि चलिरहेका छन् र निर्वाचन आयोगले उम्मेदवारी दर्ताको काम फटाफट सक्ने गरी आन्तरिक तयारी तीव्र पारेको छ। व्यवस्थापकीय कामकै व्यस्तताका कारण नेतृत्व चयनको मुख्य विषयमा भने पार्टी अझै प्रवेश गरिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *