११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
काठमाडौं। नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ। भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए।
तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो। जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन्।
स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ। विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन्।
कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन्। स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलन पनि बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो। स्मार्टफोनको बढ्दो प्रयोग, नयाँ प्रविधिप्रतिको आकर्षण तथा पुराना उपकरण प्रतिस्थापन गर्ने क्रमले आयात वृद्धि भएको व्यवसायीहरू बताउँछन्। बजारमा नयाँ मोडलका स्मार्टफोनको माग बढ्दै जाँदा आगामी महिनाहरूमा पनि आयात उच्च रहने अनुमान गरिएको छ।







डिसी नेपाल







Facebook Comment