सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

डिसी नेपाल
८ असार २०८३ १५:४०

चितवन। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।

आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले निर्देशन दिएका हुन्।

उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए।

दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उनले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताए। सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ। हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईंहरुले सोहीअनुसार काम गर्नुपर्छ।”

उनले भने, “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईंको सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्छ। सोहीअनुसार सेवाग्राही खुसी हुने गरी कार्यसम्पादन गर्नुहोला।”

नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्ने विषयमा चासो दिँदै उहाँले भवनलगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रुपमा छलफल गरे। नेपाल टेलिकमको पुनःसरचना, कर्मचारीको वृत्तिविकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरुले सञ्चारमन्त्रीसमक्ष अनुरोध गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *