मनिष झाको घोषणा: रास्वपा महामन्त्री पदमा म भिड्छु

डिसी नेपाल
८ असार २०८३ १६:०३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको बन्दसत्र चलिरहँदा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता झाले आफू महामन्त्री पदका लागि पूर्ण रूपमा मानसिक रूपमा तयार रहेको बताएका हुन्।

पछिल्लो समय मिडियामा आफ्नो उम्मेदवारीको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गर्दै उनले त्यसलाई ‘स्वीकारोक्ति’ का रूपमा लिएको बताए। ‘जसरी मिडियामा चर्चा आएको छ, त्यो मेरो स्वीकारोक्तिका साथ आएको हो। महामन्त्री पदका लागि मेरो दाबी र अपेक्षालाई स्वाभाविक रूपमा लिन सकिन्छ,’ झाले भने।

उनले परिणामको चिन्ता नगरी चुनावी प्रतिस्पर्धामा उत्रिने दृढता व्यक्त गर्दै थपे, ‘म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ। परिणाम जेसुकै आओस्, म भिड्नका लागि तयार छु।’

आफ्नो राजनीतिक महत्त्वाकांक्षाबारे प्रस्ट पार्दै झाले आफू तत्काल प्रधानमन्त्री वा पार्टी सभापति बन्ने दौडमा नरहेको स्पष्ट पारे। ‘यो देशको प्रधानमन्त्री नै बन्छु वा पार्टीको सभापति नै हुन्छु भन्ने मेरो अपेक्षा कहिल्यै थिएन। तर, अहिलेसम्म जुन तहको नेतृत्व गर्दै आएँ, अब त्योभन्दा अगाडि बढेर काम गर्ने मेरो स्वाभाविक अपेक्षा हो,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *