उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
८ असार २०८३ १६:१७

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन्। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो।

भेटमा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित सम्बन्ध निरन्तर रहीआएको बताए।

उनले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।

‘लुम्बिनीलाई ‘विश्व शान्तिको मुहान’का रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्‍याएको योगदानप्रति नेपालले सधैँ प्रशंसा गर्दछ,’ उनले भने।

भेटका अवसरमा उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी पवित्रस्थल रहेको र काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गरे।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कोलम्बो–भैरहवा सिधा उडानले श्रीलंकाली पर्यटकलाई लुम्बिनी भ्रमणमा थप प्रोत्साहन दिने विश्वास समेत व्यक्त गरे।

श्रीलंकाली राजदूत डेल्पिटियाले नेपाल र श्रीलंका व्यापार, पर्यटन लगायतका क्षेत्रमा थप सहकार्य गर्न सक्ने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *