नेपालमा चिकित्सक पलायनको डरलाग्दो रूप: लाइसेन्स लिनेभन्दा विदेशिनेको संख्या बढी
काठमाडाैं। आकर्षक सेवा सुविधा र राम्रो रोजगारीको मोहमा नेपाली चिकित्सकहरूले धमाधम बाहिरी मुलुक रोज्न थालेपछि देशमा चिकित्सक पलायनको डरलाग्दो तथ्यांक बाहिरिएको छ।
नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गरे पनि लगभग त्यत्तिकै संख्यामा चिकित्सकहरू विदेश जानका लागि काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिइरहेका छन्।
काउन्सिलको पछिल्लो तथ्यांक अनुसार सन् २०२५ मा दुई हजार १२२ जनाले लाइसेन्स लिँदा सोही वर्ष विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिनेको संख्या दुई हजार ३९० पुगेको छ। यसरी हेर्दा नयाँ लाइसेन्स लिनेको तुलनामा २६८ जना बढी चिकित्सकले बाहिर जाने प्रक्रिया सुरु गरेको देखिन्छ।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता मात्रै १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका छन् भने सोही अवधिमा ११ हजार ६८ चिकित्सकले मुलुक छाड्नका लागि असल चारित्रिक प्रमाणपत्र लिइसकेका छन्।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि आकर्षक तलब र सेवा सुविधाका कारण चिकित्सकहरू विदेश जाने क्रम बढेको बताए। विशेष गरी नेपालमा मेडिकल अधिकृत तहमा अवसरहरू निकै कम हुने र सेवा सुविधा पनि चित्तबुझ्दो नहुने भएकाले चिकित्सकहरू स्नातकोत्तर तह अध्ययन गर्न र वैदेशिक अस्पतालहरूमा काम गर्ने उद्देश्यले बाहिरिने गरेका हुन्।
डा. पाण्डेका अनुसार चिकित्सकहरू अध्ययनका लागि भन्दा पनि विदेशमा नोकरी गर्नका लागि बढी आकर्षित भएका छन् र उनीहरू विभिन्न २३ वटा मुलुकमा जाने गरेका छन्।
काउन्सिलको तथ्यांक अनुसार नेपाली चिकित्सकहरूको सबैभन्दा प्रमुख रोजगारी गन्तव्य अमेरिका बनेको छ, जहाँ सन् २०२० यता दुई हजार ९९५ जना चिकित्सक गइसकेका छन्।
अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, छिमेकी मुलुक भारतमा ९१८ जना, अस्ट्रेलियामा ८४८ जना, संयुक्त अरब इमिरेट्स (यूएई) मा ७२० जना, क्यानडामा १४८ जना र जर्मनीमा ९२ जना चिकित्सक पुगेका छन्।
वर्षगत रूपमा हेर्दा विदेश जान चारित्रिक प्रमाणपत्र लिने चिकित्सकहरूको संख्या सन् २०२० मा ८६९, २०२१ मा एक हजार ३२७, २०२२ मा एक हजार ९५४, २०२३ मा दुई हजार ३१८ र २०२४ मा दुई हजार २१० रहेको थियो।
अर्कोतर्फ, नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिने चिकित्सकहरूको संख्या पनि वर्षैपिच्छे उत्तिकै छ। सन् २०२० मा दुई हजार १३१ जना, २०२१ मा एक हजार ७१६ जना, २०२२ मा दुई हजार ८५ जना, २०२३ मा दुई हजार ६९२ जना र २०२४ मा दुई हजार ३९४ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका थिए।
काउन्सिलमा अहिलेसम्म कुल ३९ हजार ४८६ जना चिकित्सक दर्ता भइसकेका छन्। स्वदेशमा पर्याप्त अवसर, उचित श्रमको मूल्यांकन र वृत्तिविकासको सुनिश्चितता नहुँदा राज्यले ठुलो लगानी गरेर उत्पादन गरेका जनशक्तिहरू बाहिरिनुले नेपालको स्वास्थ्य क्षेत्रमा भविष्यमा दक्ष जनशक्तिको ठुलो अभाव हुन सक्ने संकेत गरेको छ।







डिसी नेपाल







Facebook Comment