देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडाैं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको स्पष्ट प्रभाव देखिएको छ।
देशका बाँकी पश्चिमी क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधारणतया बदली रही बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो देशका हिमाली र पहाडी भेगका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । मधेस प्रदेशमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने देखिन्छ।
यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशीको तराई र मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको योग रहेको छ।
मौसममा देखिएको यो विविधताका कारण लुम्बिनी र सुदूरपश्चिमका तराईमा भने तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तापक्रम निकै बढ्ने अनुमान गरिएको छ।
आज रातिको मौसम पनि दिउँसोकै जस्तो प्रकृतिको रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र कोशीको तराईमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
मधेस प्रदेश र पश्चिमी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि त्यहाँका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा नै रहनेछ। महाशाखाले चट्याङ, वर्षा, हिमपात तथा केही क्षेत्रमा हुन सक्ने अत्यधिक तापक्रम वृद्धि र तातो लहरबाट जोगिन सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै मौसमसम्बन्धी ताजा सूचनामा अद्यावधिक रहन समेत अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment