अमरेश सिंहको चेतावनी- सङ्घीयतामाथिको हस्तक्षेप स्वीकार्य छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट ‘प्रदेश सभा खारेज गर्ने’ नीतिगत दस्तावेज पारित गरेपछि सो विषयमा राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। उक्त निर्णयको कडा आलोचना गर्दै सांसद अमरेशकुमार सिंहले सङ्घीयता, लोकतन्त्र र समावेशितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप आफूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
पार्टीको महाधिवेशनमा समेत सहभागी नभएका सांसद सिंहले जनकपुरधामबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सङ्घीय शासन प्रणालीमाथि प्रहार गर्न खोजिए नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। उनले भने, ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट म फेरि भन्दैछु– नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्।’
रास्वपाको नीतिगत दस्तावेजप्रति असन्तुष्टि जनाउँदै सिंहले जनप्रतिनिधिहरूले सङ्घीयताको विकल्प खोज्नुभन्दा पनि जनताको मुख्य चाहनाअनुसार सुशासन र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले अगाडि भने, ‘जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथमा हुनेछौं।’
रास्वपाका गतिविधिसँग आलोचनात्मक धारणा राख्दै आएका सांसद सिंह पार्टीको प्रथम महाधिवेशनमा पनि अनुपस्थित थिए।






डिसी नेपाल





Facebook Comment