विराटनगरमा राजनीतिक सरगर्मी: कोइराला निवासमा प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद
काठमाडाैं। नेपाली राजनीतिको ऐतिहासिक केन्द्र मानिने मोरङको विराटनगरस्थित कोइराला निवासमा आज बिहान शीर्ष नेताहरूबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका हुन्।
समसामयिक राजनीतिक परिस्थितिका माझ देशकै ध्यान खिच्ने गरी भएको यस सामूहिक संवादलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पछिल्लो समय संसद्मा रहेका साना दलहरू र सत्ता गठबन्धनभित्रै विकसित भइरहेका नयाँ समीकरणका परिदृश्यहरूबीच विपक्षी तथा इतर समूहका यी शीर्ष नेताहरूको भेटघाटले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।
भेटका क्रममा नेताहरूबीच मुलुकको वर्तमान आर्थिक शिथिलता, सुशासनको अवस्था र संसद्मा प्रस्तुत हुन लागेका महत्त्वपूर्ण विधेयकहरूका विषयमा केन्द्रित रहेर गहन छलफल भएको बताइएकाे छ।
कोइराला परिवारको विरासत बोकेको र नेपाली प्रजातान्त्रिक आन्दोलनको कार्यशाला मानिने ऐतिहासिक कोइराला निवासमा भएको यस संवादमा डा. कोइरालाले संसद् र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, कम्युनिस्ट आन्दोलनका दुई शीर्ष नेताहरू प्रचण्ड र माधव नेपालले पनि देशमा बढ्दो बेथिति र भ्रष्टाचारका विरुद्ध संसद् तथा सडक दुवै ठाउँबाट प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूले साझा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएको स्रोतले जनाएको छ।
नेपाली कांग्रेसभित्र आफ्नै संस्थापन पक्षसँग फरक मत राख्दै आएका डा. शेखर कोइराला र वामपन्थी पृष्ठभूमिका दुई पूर्वप्रधानमन्त्रीहरूबीचको यो बाक्लो उठबसले सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसको संस्थापन पक्षलाई समेत झस्काएको छ।






डिसी नेपाल





Facebook Comment