वर्षमै ५ हजारभन्दा बढी मुद्दा: लागुऔषधको ओसारपसार र सेवन नेपालका लागि नयाँ राष्ट्रिय चुनौती

डिसी नेपाल
१२ असार २०८३ १३:०१

काठमाडाैं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री-वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव तीव्र रूपमा बढ्दै गएकाले यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार गृह मन्त्रालयमा अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण केवल कानुन कार्यान्वयनको प्राविधिक विषय मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको प्रस्ट पारे।

युवाहरूको स्वास्थ्य, सुरक्षा र देशको भविष्य तथा सम्भावनामाथि नै यसले गम्भीर घात गर्ने भएकाले यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणका लागि सबै पक्ष संवेदनशील भएर लाग्नुपर्नेमा उनले विशेष जोड दिए।

नेपालको पछिल्लो वस्तुस्थितिको तथ्याङ्क प्रस्तुत गर्दै महानिरीक्षक कार्कीले विगत पाँच वर्षको विश्लेषण गर्दा वार्षिक औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेको जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै हालसम्म पाँच हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन्, जसमा ७ हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल आठ हजार ६८ जना अभियुक्त पक्राउ परिसकेका छन्।

प्रहरीले हालसम्म बरामद गरेको अवैध लागुऔषधको विवरण दिँदै उनले सबैभन्दा बढी ४५ हजार ८५० किलोग्राम गाँजा, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, ५ किलोग्राम ७६८ ग्राम कोकिन तथा १२५ किलोग्राम ६६ ग्राम अफिम बरामद गरिएको बताए।

यो भयावह अवस्थालाई चिर्न र लागुऔषधको जालो तोड्नका लागि सुरक्षा निकाय, सरकारी अंगहरू, समुदाय, अभिभावक र नागरिक समाजबीचको समन्वय र सहकार्यलाई अझ सुदृढ एवं प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *