रास्वपाको दोस्रो चरणको निर्वाचन : महिला उपसभापति र महामन्त्री पदका लागि रोचक भिडन्त
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ।
उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदानको बाटो खुलेको हो। प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी-विरोधको प्रक्रिया पूरा गर्न, अन्तिम उम्मेदवार सूची प्रकाशन गर्न तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान पूर्वनिर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो।
पदाधिकारी चयनका लागि सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचन प्रक्रिया नै अवलम्बन गरिएको हो।
यसअघि नै पार्टीको सर्वोच्च पद सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै, खुला उपसभापति पदमा विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।
महामन्त्री पदका आकांक्षीहरू कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर), शिशिर खनाल र राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका कारण अब बाँकी पदहरूमा मात्रै प्रतिस्पर्धा हुनेछ।
अब निर्वाचनमार्फत महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदको टुङ्गो लगाइनेछ।
जसमा महिला उपसभापति पदका लागि सोबिता गौतम र डा. तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुँदैछ भने पार्टीको महत्त्वपूर्ण मानिने महामन्त्री पदका लागि मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा उत्रिएका छन्।






डिसी नेपाल





Facebook Comment