सामाजिक विभेदको त्रास: पहिचान लुकाउन टाढाका अस्पताल धाउन बाध्य छन् एचआईभी संक्रमित
टीकापुर (कैलाली)। नेपाली समाजमा आधुनिक चेतनाको विकास भइरहेको दाबी गरिए पनि एचआईभी संक्रमितहरूका लागि सामाजिक स्वीकार्यता र सम्मानजनक व्यवहार अझै आकाशको फल जस्तै बनेको छ।
समाजले संक्रमित भनेपछि अझै पनि हेला र बहिष्कारको दृष्टिले हेर्ने गरेका कारण धेरैजसो बिरामीहरू आफ्नो पहिचान लुकाउन र औषधोपचारका लागि निकै कष्ट बेहोर्दै आफ्नो गाउँ-ठाउँभन्दा टाढा रहेका एआरटी सेन्टरहरू पुग्न बाध्य छन्। कैलालीको टीकापुर अस्पतालमा रहेको एआरटी सेन्टरमा आउने बिरामीहरूको अवस्थाले यस गम्भीर सामाजिक यथार्थलाई प्रष्ट पारेको छ।
स्थानीयस्तरमा उपचार सेवा उपलब्ध भए पनि छरछिमेकीले थाहा पाउने डरले संक्रमितहरू कष्टकर यात्रा तय गरेर अर्को पालिका पुग्ने गरेका छन्। उदाहरणका लागि, लम्कीचुहा नगरपालिकाकी एक ७१ वर्षीया संक्रमित महिला आफ्नो पालिकामा एआरटी सेन्टर सञ्चालनमा हुँदाहुँदै पनि सधैँ औषधि लिन टीकापुर अस्पताल आउने गर्छिन्।
आफ्ना श्रीमान्को एचआईभीकै कारण मृत्यु भइसकेको र आफूलाई संक्रमण भएको समाजले थाहा पाएमा सामान्य सरसापट र व्यावहारिक लेनदेन समेत बन्द हुने डरले उनी आफन्तको घर जाने बहाना बनाएर टीकापुर धाउने गरेकी छिन्।
यो सामाजिक त्रासका कारण टीकापुर अस्पतालमा छिमेकी लम्कीचुहा नगरपालिकाका मात्रै १६२ जना संक्रमित उपचारका लागि आउने गरेका छन्। हाल टीकापुर अस्पतालको सेन्टरबाट कुल ५३१ जना एचआईभी संक्रमितले नियमित सेवा लिइरहेका छन्, जसमा ३०४ महिला, २०७ पुरुष, ११ लैंगिक अल्पसंख्यक र ९ जना बालबालिका छन्।
बसाइँसराइ र अन्य पालिकाहरूमा पनि एआरटी सेन्टर विस्तार भएकाले अघिल्लो वर्ष झण्डै ९ सयको हाराहारीमा रहेको यो संख्या अहिले केही घटेको हो। अचम्मको कुरा के छ भने, यहाँ सेवा लिने कुल बिरामीमध्ये टीकापुर रैथाने १३९ जना मात्र छन् भने बाँकी सबै बाहिरी क्षेत्रका हुन्। यहाँका कतिपय बिरामीहरू भने आफ्नो पहिचान लुकाउन धनगढी वा लम्कीचुहा पुग्ने गरेका छन्।
भौगोलिक दायराका हिसाबले यस सेन्टरमा कैलालीका ९ वटा पालिकाका साथै बर्दिया र सुर्खेतसम्मका बिरामीहरू आउने गर्छन्। विवरण अनुसार जानकीका ८१, बर्दगोरियाका ५२, मोहन्यालका ४४, जोशीपुरका ३३, भजनीका १८, घोडाघोडीका १८, धनगढीका १, बर्दियाका ९ र सुर्खेतका १ जना संक्रमितले यहाँबाट सेवा लिइरहेका छन्।
सन् २०१२ देखि एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले यहाँ एचआईभी निदान, उपचार र हेरचाहमा निरन्तर सघाउँदै आएको छ। एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहराका अनुसार चालु आर्थिक वर्षमा मात्रै आर्थिक संकटका कारण उपचारमा आउन समस्या भएका ८३५ जनालाई यातायात खर्च, ३१६ जनालाई पोषण सहयोग, स्वास्थ्य बीमामा नपाइने औषधि किन्नुपर्ने २०१ जनालाई आर्थिक सहायता र १२ जनालाई आकस्मिक उपचारमा सहयोग गरिएको छ।
संक्रमितहरूका लागि सामाजिक दृष्टिकोण मात्र होइन, पोषणको अभाव र नियमित आम्दानीको संकट अर्को ठूलो चुनौती बनेको छ। मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया एकल महिला जस्तै थुप्रै ज्येष्ठ नागरिक संक्रमितहरूलाई घरमा कमाउने कोही नहुँदा र सरकारले दिने सामाजिक सुरक्षा भत्ताले मात्र नपुग्दा दैनिक गुजारा र पोषणयुक्त खानपान जुटाउन धौ-धौ परिरहेको छ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले संक्रमितहरूको हकहित र उपचारका लागि एआरटी सेन्टरले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै समुदाय स्तरमा व्याप्त यो लुक्ने र लुकाउने प्रवृत्तिको अन्त्यका लागि स्थानीय सरकार, संघसंस्था र नागरिक समाजले एकीकृत रूपमा चेतनामूलक र राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।






डिसी नेपाल





Facebook Comment