बर्डफ्लु पीडित किसानलाई एक साताभित्र ५२ करोड क्षतिपूर्ति दिइँदै
काठमाडौं। पशुसेवा विभागले देशका विभिन्न ११ जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड रुपैयाँ एक साताभित्रै किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।
विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएका पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिको मूल्यांकनका आधारमा ७५ प्रतिशत रकम राहतस्वरूप उपलब्ध गराउन लागेको हो।
विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीको बैंक खातामै एक साताभित्र रकम भुक्तानी गरिनेछ।
यदि प्राविधिक कारणवश असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसान फेला परेमा उनीहरूलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्यांकन गरेर राहत वितरण गरिने भएकाले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित तत्काल जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले किसानहरूलाई आग्रह गरेको छ।
नेपालमा बर्डफ्लु सङ्क्रमणका कारण विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन्।
हालसम्म देशभर करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको र यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान विभागले गरेको छ।






डिसी नेपाल





Facebook Comment