विश्वकप २०२६: अमेरिकालाई स्तब्ध पार्दै बेल्जियम क्वार्टरफाइनलमा
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को खेलमा सह-आयोजक अमेरिका बेल्जियमसँग ४–१ को फराकिलो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार बिहान सियाटलस्थित लुमेन फिल्डमा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
बेल्जियमले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्यो। नवौँ मिनेटमा चार्ल्स डे केटलारेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अमेरिकाले ३१औँ मिनेटमा मालिक टिलम्यानको आकर्षक फ्रिकिक गोलमार्फत खेल १–१ को बराबरीमा ल्याए पनि त्यो खुसी लामो समय टिक्न सकेन। त्यसको दुई मिनेटपछि नै डे केटलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए र पहिलो हाफ २–१ को अवस्थामा समाप्त भयो।
दोस्रो हाफमा पनि बेल्जियमले खेलमाथि आफ्नो नियन्त्रण कायम राख्यो। ५७औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै अग्रता ३–१ बनाए। इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४–१ को प्रभावशाली जित दर्ता गर्यो।
घरेलु समर्थकको साथ पाए पनि अमेरिकाले रक्षात्मक कमजोरीका कारण खेलमा पुनरागमन गर्न सकेन। यस हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएको छ।
यससँगै विश्वकप २०२६ का तीनै सह-आयोजक राष्ट्र—अमेरिका, क्यानडा र मेक्सिको—अन्तिम–१६ बाटै बाहिरिएका छन्। बेल्जियमले अब जुलाई १० मा लस एन्जलस स्टेडियममा हुने क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।






डिसी नेपाल





Facebook Comment