बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ- भ्रामक समाचारले थप पीडा दियो
काठमाडौं। काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको हो।
राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएको उनले बताए।
घटनापछि छिमेकी, होस्टेलमा बस्ने युवाहरू र परिवारका सदस्यको सहयोगमा आगो निभाई राउतलाई तत्काल अस्पताल लगिएको दीपकले जानकारी दिए।
उनले भने, ‘बहान करिब ६ बजे तिर, भाउजु दाइ आफू नुहाई धुवाई गरेर श्राद्धको लागि तयारी गर्दै हुनुहुन्थ्यो। भाउजु नुहाउन पसेको बेलामा दाइले चाहिँ बाहिर गएर स्कुटरबाट पेट्रोल झिकेर अनि त्यहाँबाट आफूलाई खनाएर आगो लगाउनुभएछ। अनि बाहिर ड्याङ्ग डुडुङ्ग भएपछि भाउजु निस्केर हेर्दाखेरि आगो लागिरहेको। छिमेकीको सहयोग, होस्टेलको केटाहरुको सहयोग र दाइहरु मिलेर र प्रहरीलाई खबर गरेर अनि हामीले हस्पिटल लिएर आएका हौं।’
उनका अनुसार राउतको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा सुधार अपेक्षाअनुसार हुन नसक्दा उनी मानसिक तनावमा रहेको परिवारले महसुस गरेको थियो।
‘उपचारलाई थप अघि बढाउने तयारी भइरहेको थियो। तर, त्यसअघि नै उहाँले यस्तो कदम चाल्नुभयो,’ दीपकले भने।
यसैबीच, घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा आएका समाचारप्रति परिवारले असन्तुष्टि जनाएको छ।
दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार प्रकाशन हुँदा परिवारलाई थप मानसिक पीडा भएको बताए। उनले हरेक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
भाइ दीपकले भने, ‘हामी यतिबेला अत्यन्तै ठूलो शोक र मानसिक पीडामा छौँ। यस्तो संवेदनशील घडीमा आधारहीन कुरा लेखेर परिवारलाई थप मानसिक तनाव नदिन र समाचारमा संयमता अपनाउन आग्रह गर्दछौँ।’
उनले जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै झुटा र भ्रामक समाचार तत्काल सच्याउनसमेत सम्बन्धित पक्षसँग माग गरेका छन्।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘यो बिचमा न्यूज, अनलाइन न्यूजहरुले चाहिँ अननेसेसरी (अनावश्यक) नचाहिँदो कुराहरु पारिवारिक झगडा, यो भनेर गर्ने र पहिलाका घटनाहरुलाई पनि लिंक गरेर राजनीतिकरण गर्ने, यो कुराहरुले चाहिँ परिवारलाई अझै दुखी बनाएको छ। यो यस्तो खालको परिपाटीले चाहिँ सबै न्यूज एकैथरी हुँदैन। सबै घटना एकैथरी हुँदैनन् भन्ने कुरा चाहिँ न्यूज च्यानल चलाउने मान्छेहरुले पनि बुझिदिनुपर्यो। उहाँहरुले गर्दाखेरि हामीलाई थप समस्या भएको छ। हामीलाई मानसिक तनाव भएको छ।’
परिवारका अनुसार हाल राउतको उपचार भइरहेको छ र चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाबारे मूल्यांकन भइरहेको छ।






डिसी नेपाल





Facebook Comment