कर्णालीमा विद्युत अवरोध समाधान गर्न सरकारले पठाउने भयो यान्त्रिक क्रेन
डिसी नेपाल
२९ असार २०८३ ९:३२
काठमाडौं। सरकारले कर्णाली प्रदेशमा बारम्बार हुने विद्युत अवरोधलाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक यान्त्रिक (मेकानिकल) क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा उक्त निर्णय गरिएको हो।
मन्त्रालयले जनाएको अनुसार कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत सेवा अवरुद्ध हुने समस्या देखिँदै आएको छ। साथै, प्रसारण तथा वितरण लाइनको मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभाव हुँदा सेवा पुनः सञ्चालन गर्न ढिलाइ हुने गरेको थियो।
दुई साताअघि मन्त्री श्रेष्ठले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा सुर्खेतसहित कर्णालीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा देखिएको समस्या तथा मर्मतका लागि आवश्यक उपकरणको अभावबारे जानकारी लिएका थिए। सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुखले यान्त्रिक क्रेनको अभावका कारण मर्मत कार्य प्रभावित भइरहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
अनुगमनबाट फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत अवरोध न्यूनीकरणका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय थालेका थिए। सोही पहलस्वरूप आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको भक्तपुरस्थित खरिपाटी ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशमा पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले यो निर्णयसँगै कर्णालीमा विद्युत सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। उनले यसबाट विद्युत मर्मत तथा सेवा पुनः सञ्चालनको कार्य थप छिटो, सहज र प्रभावकारी हुने बताए।
“उक्त समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ। आवश्यक प्रक्रिया पूरा भएपछि यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराइनेछ,” मन्त्री श्रेष्ठले भने।
उनले सार्वजनिक सेवामा देखिएका व्यावहारिक समस्याको समाधानका लागि मन्त्रालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै नागरिकलाई गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
कर्णाली प्रदेशमा दुर्गम भौगोलिक अवस्था, उपकरणको अभाव तथा प्राविधिक चुनौतीका कारण विद्युत मर्मत कार्यमा समय लाग्ने समस्या लामो समयदेखि रहँदै आएको छ। यान्त्रिक क्रेन उपलब्ध भएपछि प्रसारण तथा वितरण संरचनाको मर्मत छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ।
Facebook Comment