पहिराले मेची राजमार्ग ठप्प, इलाम–पाँचथर–ताप्लेजुङको यातायात सेवा पूर्ण प्रभावित

डिसी नेपाल
२९ असार २०८३ ९:५०

काठमाडौं। निरन्तरको वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको यातायात सेवा ठप्प बनेको छ। झापासँग जोड्ने दुवै वैकल्पिक सडकसमेत बन्द भएपछि यात्रु, बिरामी तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन।

उनका अनुसार गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्गसमेत पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट पनि यातायात सञ्चालन हुन सकेको छैन।

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहेको भए पनि लगातारको वर्षाले काम प्रभावित बनेको बताए। उनका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने तयारी भए पनि आवश्यक सामग्री र प्राविधिक भारतबाट आउने मिति अझै तय नभएकाले तत्काल समस्या समाधान हुने सम्भावना कम रहेको छ।

यातायात सेवा ठप्प भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले व्यवसायीहरूले केही दिनसम्म साना सवारीमार्फत आवश्यक सामान ओसारेर बजारको माग धान्ने प्रयास गरे पनि अहिले सबै वैकल्पिक मार्ग बन्द भएकाले इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको अभाव हुन सक्ने जोखिम बढेको बताए।

उनले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि प्रत्येक वर्ष बर्खायाममा उच्च पहिरो जोखिममा पर्दै आएको छ। करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याका कारण यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर परेको हो।

पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायमै रहेकाले आगामी दिनमा थप वर्षा भए आवागमन अझ कठिन बन्न सक्ने स्थानीयको भनाइ छ।

सडक अवरुद्ध भएपछि यातायात व्यवसायी पनि समस्यामा परेका छन्। इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले हरेक दिन सडक खुल्ने आशामा यात्रा सुरु गरे पनि वर्षा भएपछि फेरि सडक बन्द हुने अवस्था दोहोरिने गरेको बताए।

उनले भने, “हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ। तर पानी परेपछि फेरि सबै बन्द हुन्छ। गाडीको किस्ता तिर्न, इन्धनको खर्च जुटाउन र घरपरिवार चलाउन निकै गाह्रो भएको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *