सञ्चारगृह अगाडि शंकास्पद गाडी राखेर पत्रकारलाई आतंकित पारिएकोप्रति एमालेको आपत्ति

डिसी नेपाल
२९ असार २०८३ १५:२६

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद सवारी साधन राखेर सञ्चारकर्मीलाई आतंकित पार्ने प्रयास गरिएको भन्दै नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ।

अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुर टेलिभिजनका कार्यालय परिसरमा सवारी साधन तेर्स्याएर आवातजावतमा अवरोध पुर्‍याइएपछि एमालेले एक प्रेस नोट जारी गर्दै घटनाको भर्त्सना गरेको हो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले उक्त कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उल्लेख गरेका छन्।

प्रेस नोटमा भनिएको छ, ‘कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवातजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’ एमालेले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराएको छ।

एमालेले सञ्चारगृह र पत्रकारहरूलाई भयभित बनाउने नियतले गरिएको यस प्रकारको हर्कत निन्दनीय र रहस्यमय रहेको टिप्पणी गरेको छ। प्रचार विभाग प्रमुख आचार्यले भनेका छन्, ‘सञ्चार क्षेत्रलाई भयभित बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको हामी घोर भर्त्सना गर्दछौं।’

सञ्चारमाध्यमहरूमाथि प्रत्यक्ष वा परोक्ष रूपमा दबाब दिने र सञ्चारकर्मीको सुरक्षामा चुनौती थप्ने यस्ता क्रियाकलाप तत्काल रोक्न एमालेले माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *