गगन थापाको घर अगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार
काठमाडौं । विभिन्न सञ्चारगृहका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको केही समयमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि पनि सवारी साधन तेर्स्याइएको छ।
सोमबार बिहान करिब ७ बजेदेखि काठमाडौंको रातोपुलस्थित महामन्त्री थापाको घर अगाडि नै गाडी तेर्स्याइएपछि आवतजावत ठप्प भएको छ। गाडी यसरी राखिएको छ कि घरबाट मोटरसाइकलसमेत निकाल्न नमिल्ने अवस्था छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तेर्स्याएर छाड्ने चालक त्यसलगत्तै नजिकै रहेको नेपाल प्रहरीको भ्यानमा चढेर हिँडेका थिए। गाडी राख्ने व्यक्ति प्रहरीकै सवारीमा चढेर गएपछि स्थानीयबासीहरू सो गाडी हटाउन डराएका छन्। यस विषयमा प्रहरीले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
सोमबार नै राजधानीका तीन प्रमुख सञ्चारगृहहरू तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालय गेट अगाडि पनि यसरी नै गाडी तेर्स्याइएको थियो। सञ्चारगृहको कार्य सञ्चालन र पत्रकारहरूको आवातजावत नै प्रभावित हुने गरी राखिएका ती गाडीहरूलाई पछि प्रहरीले क्रेनको सहायताले हटाएको थियो।
एकै दिन प्रमुख राजनीतिक दलका नेताको निवास र मुख्य सञ्चारगृहहरूलाई लक्षित गरी गरिएको यस किसिमको नियोजित अवरोधलाई लिएर यतिबेला गम्भीर प्रश्न उठेको छ। एमाले लगायत विभिन्न पक्षले सञ्चारमाध्यममाथिको यस्तो अवरोधलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार र निन्दनीय घटना भन्दै विरोध जनाइरहेका छन्।






डिसी नेपाल





Facebook Comment