भारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार ती क्षेत्रमा अति भारी वर्षा हुने संकेत देखिएकाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्राधिकरणले यस्तो निर्णय लिएको हो।
रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। प्राधिकरणले परिस्थितिको गम्भीरतालाई हेरेर जुनसुकै समयमा पनि सवारी साधन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी दिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय र डुबानको उच्च जोखिम रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रात्रिकालीन यात्राबाट टाढै रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायका साथै स्थानीय तह र स्वयंसेवकहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ।
सम्भावित सडक अवरोधहरूलाई तत्काल पन्छाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरणहरू तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।
त्यसैगरी, नदी किनारका बस्ती र पहिरोको जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सतर्कता अपनाउन पनि प्राधिकरणले अनुरोध गरेको छ। नागरिकहरूले विपद् वा वर्षासम्बन्धी कुनै पनि जानकारी तथा सहयोगका लागि ११५५, १२३४, १०० र १११४ नम्बरमा सम्पर्क गरी आधिकारिक सूचना पछ्याउन सक्नेछन्।






डिसी नेपाल





Facebook Comment