हेटौंडामा पौडी खेल्ने क्रममा खाल्डोमा डुबेर १३ वर्षीय बालकको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-६, रोएनी कोलोनीस्थित कर्रा खोला किनारमा जमेको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १:१० बजे साथीहरूसँग पौडी खेल्न गएका हेटौंडा-१७ का १३-१४ वर्षीय युकेश राई खाल्डोमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली तत्काल घटनास्थलमा पुगेको थियो।
बागमती प्रदेश विपद व्यवस्थापन प्रहरी गुल्म र सशस्त्र प्रहरी बलको समन्वय तथा स्थानीयको सहयोगमा गरिएको खोजतलासका क्रममा दिउँसो २:०० बजे उनलाई सोही खाल्डोमा फेला पारिएको थियो।
उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएका युकेशलाई दिउँसो २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। हाल मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वर्षायाममा खोलानालामा पानीको बहाव बढ्ने र खाल्डाखुल्डीमा पानी जम्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई जोखिमयुक्त स्थानमा जान नदिन, खोला-खोल्सामा पौडी नखेल्न तथा बाढीको समयमा जोखिम मोलेर यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपिल गरेको छ।






डिसी नेपाल





Facebook Comment