गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

डिसी नेपाल
२ साउन २०८३ २०:५७

गण्डकी। जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ।

प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जानकारी दिए। विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *