घरायसी विवादमा श्रीमतीको खुकुरी प्रहार गरी हत्या, श्रीमान पक्राउ
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिकामा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमर बहादुर सार्की रहेका छन्। उनीमाथि आफ्नै ४३ वर्षीया श्रीमती फुलमाया मुदेल सार्कीको खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान घरायसी विवाद चर्किएपछि अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न आरोपित अमर बहादुरलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment