नेकपा एमालेद्वारा आफ्ना सांसदहरूका लागि संसदीय अभ्यास र प्रभावकारितासम्बन्धी विशेष प्रशिक्षण
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद्मा आफ्नो राजनीतिक भूमिकालाई थप रचनात्मक, सशक्त र प्रभावकारी बनाउन पार्टीका सांसदहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय विभागद्वारा आयोजित यस प्रशिक्षण कार्यक्रममा संसद्मा सांसदहरूले निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यासका विविध आयाम तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका प्राविधिक पक्षबारे विस्तृत प्रशिक्षण दिइएको छ।
एमाले संसदीय विभागका प्रमुख एवं पूर्वमन्त्री पद्मा अर्यालका अनुसार संसद्मा पार्टीको प्रस्तुतिलाई जनमुखी र नियमानुसार मर्यादित बनाउने उद्देश्यले यो प्रशिक्षणको आयोजना गरिएको हो।
प्रशिक्षण कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको कार्यसम्पादन, क्षेत्राधिकार र अधिकारका साथै विभिन्न संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा रहँदा सांसदहरूले उठाउनुपर्ने जनसरोकारका विषयबारे विशेष प्रशिक्षण दिने कार्यतालिका रहेको छ।
पछिल्लो समय संसद्मा कानुन निर्माणको प्रक्रिया, राष्ट्रिय सरोकारका मुद्दामा संसदीय निगरानी र संसदभित्र देखिने राजनीतिक सवालहरूमा पार्टीको आधिकारिक धारणालाई एकरूपताका साथ सशक्त रूपमा प्रस्तुत गर्न यस्ता प्रशिक्षणहरूलाई महत्त्वपूर्ण मानिन्छ।
विशेष गरी राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक सत्ता समीकरण र संसद्को समसामयिक भूमिकालाई मध्यनजर गर्दै एमालेले आफ्ना जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि र संसद्मा प्रभावकारी उपस्थितिका लागि यस प्रकारको आन्तरिक तयारीलाई तीव्र पारेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment