नेपालमा मलको अभाव हट्ने संकेत : १२ सय ५० मेट्रिक टन डिएपी भोलि आइपुग्दै
काठमाडौं । नेपालमा रासायनिक मलको अभावलाई कम गर्ने उद्देश्यले खरिद गरिएको डिएपी मल भोलि साउन ४ गते नेपाल आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मलमध्ये पहिलो खेपका रूपमा १,२५० मेट्रिक टन मल भित्रिन लागेको हो।
उक्त मल १० जुलाईमा भारतको कोलकाता बन्दरगाहमा आइपुगेको थियो। साउन १ गते कोलकाताबाट ढुवानी सुरु भएको उक्त परिमाणको मल भोलि साउन ४ गते नेपाल आइपुग्ने सुनिश्चित भएको छ।
कोलकाता बन्दरगाहमा बाँकी रहेको डिएपी मलको हाल प्याकेजिङ (ब्यागिङ) कार्य भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक मल वीरगन्जका लागि पठाइसकिएको छ। बाँकी मल पनि क्रमशः नेपाल भित्र्याउने प्रक्रिया अघि बढेको कम्पनीले जनाएको छ।
डिएपीसँगै ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल उक्त मल अनलोडिङ र ब्यागिङको काम धमाधम भइरहेको छ। कृषि सामग्री कम्पनीका अनुसार भोलि नै थप एक रेक युरिया मल वीरगन्जका लागि लोडिङ गर्ने तयारी भइरहेको छ।
धान रोप्ने सिजन चलिरहेको समयमा ठुलो परिमाणमा मल भित्रिन थालेपछि किसानहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment