प्रदेशमा तीन दल मिल्ने प्रस्ताव जनमतविपरीत, कांग्रेसले प्रतिपक्षविहीन संसद् स्वीकार्दैन: गगन थापा
काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने भनी आएको प्रस्तावमा कडा विमति जनाएका छन्।
ललितपुरमा आज आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार, सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको सर्वथा विपरीत रहेको स्पष्ट पारे।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेशहरूमा सरकार गठन गर्ने प्रस्ताव आएकोतर्फ संकेत गर्दै उनले तीनवटै पार्टी एकै ठाउँमा उभिनु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु रहेको टिप्पणी गरे।
बागमती प्रदेश सरकारको भविष्यबारे नेता-कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले कांग्रेसले सत्ताका लागि आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे।
सभापति थापाले विगतमा कांग्रेसले सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै राजनीतिक दलहरूमा देखिएको चरम सत्तामुखी प्रवृत्तिको आलोचना गरे।
एउटा दलसँग मिलेर चुनाव लड्ने र अर्कोसँग मिलेर सत्तामा जाने परिपाटीले को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै छुट्टिन छाडेको उनको भनाइ छ। बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने यस्तो अस्थिर प्रवृत्तिले गर्दा राजनीतिको साख नै गिरेको भन्दै उनले सत्ता नै सबैकुरा हो भन्ने सोचले वि.सं. २०७२ देखि दलहरूलाई गलत बाटोमा पुर्याएको उल्लेख गरे।
वर्तमान कांग्रेसले आफ्नो सोच्ने तरिका र प्राथमिकता बदल्न खोजेको दाबी गर्दै उनले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताए। नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सीमित राख्न नहुनेमा उनले विशेष जोड दिए।
पछिल्लो राजनीतिक विकासक्रम अनुसार कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरिसकेको छ। नेकपा एमालेसँग विगतमा गरिएको राजनीतिक समझदारीलाई अब निरन्तरता नदिने पक्षमा कांग्रेसका नेताहरू उभिएका छन्।
सत्ताकेन्द्रित राजनीतिका कारण सरकारहरू निरन्तर बन्ने र भत्कने श्रृंखला चलिरहेका बेला एमालेसँगको सहकार्य टुट्ने संकेत मिलेसँगै अहिले विभिन्न प्रदेश सरकारहरूमा नेतृत्व परिवर्तनको तीव्र चर्चा भइरहेको छ।






डिसी नेपाल





Facebook Comment