भारी वर्षाको जोखिम कायमै : मौसम विभागद्वारा थप सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
३ साउन २०८३ १६:१०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा आज आइतबार पनि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साउन २ र ३ गतेदेखि सुरु भएको भारी वर्षाको क्रम नरोकिएपछि विभागले पुनः सूचना जारी गर्दै कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएको हो।

यसका अतिरिक्त बागमती र गण्डकी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा समेत भारी वर्षाको जोखिम रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयबाट बच्न र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

लगातारको वर्षाले दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण र सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन भनिएको छ।

काठमाडौं उपत्यकाको हकमा भने मौसमविद्हरूले आज मध्यम खालको वर्षा हुने अनुमान गरेका छन्। मौसमविद् डेभिड ढकालका अनुसार उपत्यकामा केही बेर मौसम खुलेजस्तो देखिए पनि पुनः बदली र वर्षा हुने क्रम जारी रहनेछ। उपत्यकाका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना रहे पनि त्यसको जोखिम अन्य क्षेत्रको तुलनामा कम रहेको उनले जानकारी दिएका छन्।

विभागले वर्षाको मात्रा र प्रभाव क्षेत्रलाई आम नागरिकले सहजै बुझ्न सकून् भनी केही मापदण्डहरू पनि स्पष्ट पारेको छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परेमा हल्का, १० देखि ५० मिलिमिटर भएमा मध्यम, ५० देखि १०० मिलिमिटर भएमा भारी, १०० देखि २०० मिलिमिटर भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अति भारी वर्षाका रूपमा लिइन्छ।

त्यसैगरी, वर्षा हुने क्षेत्रलाई पनि प्रतिशतका आधारमा वर्गीकरण गरिएको छ, जसमा १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई ‘एक-दुई स्थान’, १० देखि ३० प्रतिशतलाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावनालाई ‘अधिकांश स्थान’ भनी सम्बोधन गरिन्छ। सम्बन्धित सबैलाई विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन र जोखिमपूर्ण अवस्थामा सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *