धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गरेको आरोपमा ९ जना पक्राउ

डिसी नेपाल
३ साउन २०८३ २२:४४

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा (क्रिप्टोकरेन्सी/डिजिटल मुद्रा) कारोबार गरिरहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार धनगढी–४ मा केही व्यक्तिहरूले फ्ल्याट भाडामा लिएर युवायुवतीलाई राखी संगठित रूपमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा अवैध मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का ३४ वर्षीय प्रेम बहादुर साउँद, उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३४ वर्षीय बिपिन मगर, भारतको नयाँदिल्लीका २६ वर्षीय रविकुमार सूर्यवंशी, भारतको हरियाणा राज्य सोनीपतका २७ वर्षीय दीपक कुमार जाट, चितवनको भरतपुर महानगरपालिका–२ रामनगरका २७ वर्षीय जितेन्द्र कँडेल, ललितपुरको महालक्ष्मी

नगरपालिका–८ का ४३ वर्षीय राजकुमार गौतम, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ का २५ वर्षीय रञ्जन चुडाल, झापाको दमक नगरपालिका–९ का २६ वर्षीय हरि प्रसाद चापागाईं र धनगढी उपमहानगरपालिका–३ का ३१ वर्षीय ज्ञानेन्द्र ढकाल रहेका छन्। सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *