असारमा घरजग्गा कारोबारबाट करिब १२ अर्ब राजस्व संकलन, वर्षभरिकै उच्च

डिसी नेपाल
४ साउन २०८३ ४:१८

काठमाडौं। घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व संकलन भएको छ।

देशभरको मालपोत कार्यालयको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व संकलन असार महिनामा नै भएको हो। कोरोनाकाल र गोरखा भूकम्पपछिको अवधिमा घरजग्गा कारोबारबाट एकै महिनामा संकलन भएको यो नै सबैभन्दा बढी राजस्व मानिएको छ।

साउन १ गतेदेखि लागू हुने बजेटमार्फत घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था गरिएकाले असारमै कारोबार ह्वात्तै बढेको र सोही कारण राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ।

विभागले सार्वजनिक गरेको वर्षभरको विवरणअनुसार आव २०८२/८३ को दोस्रो धेरै राजस्व गत वैशाख महिनामा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ संकलन भएको थियो।

अन्य महिनाहरूको विवरण हेर्दा २०८२ साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ र भदौमा केही घटेर रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबर राजस्व प्राप्त भएको थियो।

असोज र कात्तिकमा भने कारोबार घटेर न्यून राजस्व संकलन भएको थियो, जसमा असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ जम्मा भएको थियो।

यसैगरी मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२, माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ राजस्व संकलन भएको थियो।

वर्षको अन्तिम चौमासिकतर्फ चैतमा छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको रकम सरकारको खातामा जम्मा भएको विभागको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *