काठमाडौं उपत्यकामा २४ घण्टामा ७५५ सवारी चालक कारबाहीमा, मापसेदेखि राइड सेयरिङसम्म निगरानी
डिसी नेपाल
४ साउन २०८३ ८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७५५ जना सवारी चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १५ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी, अनुमति विपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने ५२ जना तथा रातोबत्ती उल्लङ्घन गर्ने ४० जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ८३ जना, हर्न निषेध क्षेत्रमै अनावश्यक हर्न बजाउने २३ जना, सडक तथा फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ वा सञ्चालन गर्ने २६ जना, अवस्था ठीक नभएको (यान्त्रिक रूपमा मापदण्ड पूरा नगरेको) सवारी चलाउने २६ जना तथा एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने २५ जना चालकलाई पनि कारबाही गरिएको छ।
यसैबीच, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४६५ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम गर्न उपत्यकाभर नियमित रूपमा सवारी जाँचलाई निरन्तरता दिइएको जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
Facebook Comment