पोखरामा हरित विद्यालयसम्बन्धी चारदिने प्रादेशिक तालिम सम्पन्न, विद्यालयमै हरित अवधारणा कार्यान्वयन गरिने
पोखरा। प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै विद्यालयमा दिगो विकास, वातावरणीय शिक्षा र जलवायुमैत्री अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ।
प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वय तथा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजित तालिममा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जनाको सहभागिता रहेको थियो।
तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो तथा जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा र व्यवहारिक अभ्यासबारे विस्तृत छलफल गरिएको थियो। साथै नेपाल सरकार र युनेस्कोका सम्बन्धित मार्गदर्शक दस्तावेजहरूको अध्ययन तथा प्रयोगका विषयमा सहभागीलाई अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता, दिगो जीवनशैली र परिपत्र अर्थतन्त्रजस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी एकीकृत गर्ने भन्ने विषयमा विशेष छलफल गरिएको थियो। विभिन्न विषयका पाठ्यवस्तुसँग हरित विद्यालय अवधारणालाई अन्तरसम्बन्धित गर्दै विद्यार्थीकेन्द्रित, परियोजनामा आधारित तथा व्यवहारमुखी सिकाइलाई प्रवर्द्धन गर्ने उपायहरू पनि प्रस्तुत गरिएका थिए।
तालिमको महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले वातावरणीय तथा दिगोपनका अवधारणालाई समेटेर अन्तरविषयगत पाठयोजना निर्माण गर्ने अभ्यास गरेका थिए। तयार गरिएका पाठयोजनाका आधारमा कास्कीको भद्रकाली माध्यमिक विद्यालय, कुडहरमा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो। उक्त कक्षाको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा युनेस्कोका प्रतिनिधिहरूले अवलोकन गर्दै सहभागीहरूलाई रचनात्मक सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए।
तालिमको सहजीकरण काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, युनेस्कोका प्रतिनिधि तथा प्रिन्सिपल एशोसिएसन अफ नेपालका पदाधिकारीहरूले गरेका थिए।
समापन कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालय नेतृत्वले हरित, दिगो र जलवायुमैत्री विद्यालय निर्माणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारे। उनले गण्डकी प्रदेशबाट सुरु भएको यो कार्यक्रमलाई विस्तार गर्दै सातै प्रदेशका १०० भन्दा बढी विद्यालयका प्रधानाध्यापक र ‘फोकल’ शिक्षकलाई तालिम प्रदान गर्ने तथा आगामी वर्षहरूमा यसको दायरा अझ विस्तार गरिने जानकारी दिए।
त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सहभागी शिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।
तालिम सम्पन्न भएसँगै सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणाको कार्यान्वयनसम्बन्धी विद्यालय–आधारित कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। तोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेश गरेपछि सहभागीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालय अवधारणालाई विद्यालय व्यवस्थापन, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्य क्रियाकलाप तथा समुदायसँगको सहकार्यमा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभव प्रदान गरेको छ। यसले नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री तथा जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment