पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक
काठमाडौं। लगातारको वर्षा, पहिरो र सम्भावित बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार हाल आठ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको उच्च जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।
त्यसैगरी, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण सडक जोखिमपूर्ण बनेपछि अर्को सूचना नआएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक र गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडकमा समेत पहिरोले यातायात पूर्ण रूपमा ठप्प भएको छ।
यसैबीच, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे पूर्वजानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment