स्रोत नखुलेको साढे ६ लाख नगदसहित उपसचिव पक्राउ
विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख समेत रहेका तामाङलाई प्रहरीले साउन ३ गते नै पक्राउ गरे पनि घटना ५ दिनसम्म गुपचुप राखेर शुक्रबार मात्र सार्वजनिक गरेको छ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ उडानमार्फत विराटनगरबाट काठमाडौं जाने तयारीमा थिए। विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको हो।
उक्त रकमको स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षा गार्डले नियन्त्रणमा लिएको थियो। त्यसपश्चात थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाइएको छ। तामाङले उक्त रकम आफन्तको भएको दाबी गर्दै आएका छन्।
सामान्यतया स्रोत नखुलेको ठूलो रकमसहित कोही पक्राउ परेमा प्रहरीले तत्काल सार्वजनिक गर्ने परम्परा रहे पनि उपसचिव तहकै कर्मचारी पक्राउ परेको घटनालाई मोरङ प्रहरीले लामो समयसम्म ओझेलमा राख्न खोजेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।
स्रोत पुष्टि गर्न नसकेका कारण पक्राउ परेका उपसचिव तामाङमाथि हाल थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment