बाढीपहिरो र कटानले मेची, अरनिकोसहित प्रमुख राजमार्ग ठप्प: सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौं। बाढीपहिरो तथा नदी कटानका कारण देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्ग र सडकखण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार विपद्को जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी वर्षायामभरिका लागि कान्ति लोकपथमा पनि अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।
सडक अवरुद्ध हुने क्रममा इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा बाक्लो हिलो जमेकाले यातायात ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी लामासाँघु-रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले काटेपछि सवारी आवागमन रोकिँदा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ।
पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडक अवरुद्ध बनेको छ भने मुस्ताङको घ्याकर खोलामा पानीको सतह बढेपछि जोमसोम-कोरला सडक खण्डमा पनि सवारीसाधन ठप्प भएका छन्।
अहिले सडक विभाग र स्थानीय निकायको समन्वयमा पहिरो हटाई सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment