भारतमा प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयकाे अतिरिक्त जिम्मेवारी, सीजेपीद्वारा आन्दोलन स्थगित
नयाँदिल्ली। भारतमा राष्ट्रिय पात्रता प्रवेश परीक्षा (नीट युजी) को प्रश्नपत्र बाहिरिएको प्रकरण र विद्यार्थी आन्दोलनको तीव्र दबाबपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले मन्त्री प्रधानको राजीनामा स्वीकृत गरेकी छन्। शिक्षामन्त्रीको राजीनामासँगै रिक्त भएको शिक्षा मन्त्रालयको जिम्मेवारी केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण एवम् नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीलाई दिइएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई अब शिक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने गरी अतिरिक्त जिम्मेवारी तोकिएको हो। दिल्लीको जन्तरमन्तरमा लामो समयदेखि आन्दोलनरत ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शन र तीव्र राजनीतिक दबाबपछि मन्त्री प्रधानले पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिँदै प्रधानले देशको एकता कायम राख्न, विद्यार्थीहरूको भविष्य कानुनी उल्झनमा नपरोस् भन्न र आन्दोलनको नाममा देशविरोधी तत्त्वहरूले फाइदा उठाउन नपाऊन् भन्ने उद्देश्यले आफूले पद छाडेको बताएका छन्। शिक्षामन्त्रीको राजीनामा स्वीकृत भएसँगै केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँगको वार्तापछि कक्रोच जनता पार्टीले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरेको छ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग प्रमुख मागहरूमा सहमति बनेकाले प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरिएको जानकारी दिए। उनका अनुसार सरकारसँग आगामी चार सातापछि पुनः बैठक बसी बाँकी मागहरू तथा शिक्षा सुधारका विषयमा विस्तृत छलफल गरिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment