चिकित्सक आक्रमणको विरोधमा ओपिडी सेवा प्रभावित: सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग

डिसी नेपाल
१३ साउन २०८३ १४:२३

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन सुरु गरेको छ।

संघको आह्वानमा बुधबार माइतीघर मण्डलामा भेला भई चिकित्सकहरूले दोषीउपर कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

अस्पतालमा भएको आक्रमणमा परी गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म आन्दोलन जारी रहने बताए। सरकारले चिकित्सकका जायज माग यथाशीघ्र सम्बोधन गरे आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन सकिने उनको भनाइ छ।

डा. मल्लले भने, “सरकारले जति छिटो हाम्रा माग पूरा गर्छ, त्यति नै छिटो आन्दोलन फिर्ता हुन्छ। घटना घटेको ३–४ दिन बितिसक्दा पनि दोषीलाई नियन्त्रणमा लिन नसक्नु सरकारको लाचारी हो। पहिलेका सरकार हुँदा होस् या अहिले, चिकित्सकहरूले सधैँ यस्तै असुरक्षा भोग्नुपरिरहेको छ।”

आन्दोलनका कारण हाल देशभरका अस्पतालहरूमा ओपिडी सेवा पूर्ण रूपमा ठप्प छ भने नारायणी अस्पतालमा आकस्मिक (इमरजेन्सी) सेवासमेत प्रभावित बनेको छ।

त्यसैगरी डा. बिना श्रेष्ठले चिकित्सकहरूको मुख्य माग नै कार्यस्थलमा सुरक्षाको सुनिश्चितता रहेको बताइन्। चिकित्सकहरूले मानसिक रूपमा ढुक्क भएर बिरामीको सेवा गर्न पाउने वातावरण बन्नुपर्नेमा उनले जोड दिइन्।

डा. श्रेष्ठले भनिन्, “हाम्रो माग डाक्टरको सुरक्षा मात्र हो। कार्यस्थलमा पुग्दा कुटपिट हुने, गालीगलौज सहनुपर्ने वा सामाजिक सञ्जालमा चरित्रहत्या हुने डरैडरमा काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। ज्यानै जाने गरी कुटपिट हुँदा पनि कानुन मौन बस्नु दुःखद छ। सरकारले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गरोस् भन्ने हाम्रो चाहना हो।”

चिकित्सकहरूले कार्यस्थलमा शान्ति सुरक्षाको वातावरण नभएसम्म र स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनको कडाइका साथ पालना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *