कप्तानगञ्ज झडपमा घाइते रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा निधन, मृतकको संख्या ३ पुग्यो
काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। घटनालगत्तै थप उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा मङ्गलवार बिहान साढे १० बजे निधन भएको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेका कारण शरीरमा लागेको गोली निकाल्न सकिएको थिएन। बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेपछि चिकित्सकहरूले शल्यक्रियामार्फत उनको खुट्टा समेत काटेका थिए, तर उपचारकै क्रममा उनलाई बचाउन सकिएन।
यसअघि नै उक्त झडपका क्रममा गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको ज्यान गइसकेकाले कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको कुल संख्या ३ पुगेको छ।
साउन १० गते राति धार्मिक झण्डा हटाउने विषयलाई लिएर सुरु भएको सामान्य विवादले डिजे बाजा र पूजाको तयारीका क्रममा उग्र रूप लिँदा दुई पक्षबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी तथा सशस्त्र प्रहरीले गोली चलाउँदा सुरक्षाकर्मीसहित २२ भन्दा बढी सर्वसाधारण घाइते भएका थिए।
घटनापछि उत्पन्न तनावलाई साम्य पार्न र सम्भावित अशान्ति रोक्न स्थानीय प्रशासनले कप्तानगञ्ज तथा आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गर्दै सुरक्षा सतर्कता उच्च बनाएको थियो । घाइते अन्य व्यक्तिहरूको विराटनगरका विभिन्न अस्पतालहरूका साथै काठमाडौँका स्वास्थ्य संस्थामा उपचार जारी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment