अर्थतन्त्र विस्तार गर्न सरकार र बैङ्कहरूबीच सहकार्य अपरिहार्य छः अर्थमन्त्री

डिसी नेपाल
१९ साउन २०८३ २२:५९
काठमाडौं।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैङ्कहरू एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे आज अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बैङ्क र सरकारबीच मतैक्यका साथ अगाडि बढ्नुपर्ने बताए।
उनले बैङ्कका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैङ्क र बैङ्करहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उहाँले सरकारले इमानदारीपूर्वक समस्याको समाधान गर्ने पनि स्पष्ट पारे।
“अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौँ,” अर्थमन्त्री वाग्लेले बैङ्करहरूलाई भने, “अर्थतन्त्रको आकार रु ७४ खर्बको बनाउने लक्ष्य छ। यसका लागि लगानी बढाउनुपर्छ। रोजगारी सिर्जना गर्नु छ। तपाईंहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ, योगदान गर्नुहोस्।  सरकारले पनि कहाँ–कहाँ के–के गर्नुपर्ने हो, भन्नुहोस्।” उनले बैङ्कहरूले कर्जा विस्तार गर्न नसक्नुको कारण के हो भन्दै बैङ्करहरूलाई प्रश्नसमेत गरे।
“बैङ्कहरूले कर्जा विस्तारमा के समस्या भइरहेको छ ? सरकारले केही गर्नुपर्ने अवस्था छ भने भन्नुहोस्। हामी सहजीकरण गर्छौं,” अर्थमन्त्री वाग्लेले भने।
बैङ्कले भोगिरहेका नीतिगत र व्यावहारिक कठिनाइलाई एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न अनुरोध गर्दै त्यसैका आधारमा समाधान खोजिने स्पष्ट पारे।
छलफलमा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारे। उनीहरुले बैङ्किङ क्षेत्रलाई अहिले केही पुराना नियामकीय उपचारले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको तर त्यो समाधान गर्न सकिने खालको रहेको बताए।
जलविद्युत् क्षेत्रमा लगानीका लागि बैङ्कहरूबीच प्रतिस्पर्धा चलिरहेको भन्दै बैङ्करहरूले अन्य क्षेत्रमा पनि बिस्तारै माग बढ्ने सङ्केत देखिएको बताए।
केही सहजीकरणका कामहरू सरकारले र राष्ट्र बैङ्कले तत्काल गर्नुपर्ने खालका रहेका भन्दै उहाँहरुले त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो। नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए।
ठूला परियोजनालाई समयमै सक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिँदै उहाँले साना–ठूला व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताए। सिटिजन्स इन्टरनेसनल बैङ्कका कार्यकारी अधिकृत गणेश पोखरेलले बैङ्किङ क्षेत्रको अहिलेको सुस्ततालाई नियमित र एउटा चक्रका रूपमा बुझ्नुपर्ने बताए।
“जलविद्युत्मा लगानी खोज्न मारामार छ। बाहिर देखिएजस्तो कमजोर अवस्था पनि होइन। यो एउटा चक्र हो,” सिटिजन्स इन्टरनेसनल बैङ्कका कार्यकारी अधिकृत गणेश पोखरेलले दोहोर्‍याए।
ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वासमा आएको कमीलाई सम्बोधन गर्न आग्रह गरे।
उनले बैङ्कको ऋण दिने क्षमता वृद्धि गर्न राष्ट्र बैङ्कले नीतिगत सहजीकरण गर्नुपर्ने बताए। सरकारले स्थापना गर्ने भनेको गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै खुल्नेमा उहाँले विश्वास व्यक्त गरे।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *