बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध: जोखिमयुक्त सडकमा रात्रिकालीन यातायातमा रोक

डिसी नेपाल
२१ साउन २०८३ १०:०६

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै केही सडक खण्डहरूमा भने रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान दिएको जानकारी अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

अर्को सूचना जारी नभएसम्म सो सडकमा राति आवागमन बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र यातायात सञ्चालन गर्न पाइनेछ। यस्तै, वर्षाको जोखिमकै कारण कान्ति लोकपथअन्तर्गत मकवानपुर खण्डमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।

उता पहिरो र सडक कटानका कारण देशका धेरैजसो मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। इलामको राजदुवालीमा खसेको पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ भने सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग ठप्प छ।

त्यसैगरी, रसुवाको खाल्टेमा त्रिशूली नदीले बाटो काटेकाले पासाङ ल्हामु राजमार्ग अबरुद्ध छ भने बागलुङको बेलबगर र पाल्पाको लितिपिरिङमा पहिरो जाँदा कालिगण्डकी करिडोरमा गाडी चल्न सकेका छैनन्।

पूर्वी रुकुमको काँडाबजारमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने मुगुको ताल्चामा नाग्म–गमगढी सडक, म्याग्दीको बैसेरी र भिरकाटेमा बेनी–जोमसोम सडक तथा पर्वतको केराबारीमा मालढुङ्गा-बेनी सडक पहिरोकै कारण ठप्प भएका छन्। ललितपुरको पाङदुरमा खसेको पहिरोले कान्ति लोकपथको उताको खण्ड पनि बन्द गराएको छ।

दोलखाको किर्नेटारस्थित लामासाँघु-रामेछाप सडक सामाकोशी खोलाले काटेर अवरुद्ध भए पनि अहिले खिम्ती ग्रामीण विद्युत् सहकारीको परिसर हुँदै वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको छ।

वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम अत्यधिक रहने भएकाले यात्रा गर्नुअघि अनिवार्य रूपमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायबाट सडकको ताजा अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *