हुलाकी राजमार्गमा लालबकैयाको बाढी: ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य सर्वसाधारण

डिसी नेपाल
२१ साउन २०८३ १०:५४

रौतहट। निरन्तरको वर्षासँगै लालबकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ।

सडकमाथि कम्मरसम्म बाढीको पानी ओभरफ्लो भएर बगिरहे पनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन्।

राजपुर नगरपालिकाअन्तर्गत फतुवा पुलको पश्चिमतर्फको लचकामा लालबकैया खोलाको बाढीले उग्र रूप लिएको हो। सडक जलमग्न भई पानीको तीव्र बहाव हुँदा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार र आकस्मिक काम सल्टाउनका लागि सर्वसाधारणहरू उर्लँदो भेलमा हेलिएर बाटो काटिरहेका छन्।

तराई-मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्ग रौतहटलाई छिमेकी जिल्ला र अन्य स्थानीय तहहरूसँग जोड्ने सबैभन्दा छोटो र महत्त्वपूर्ण मार्ग हो। यो सडक खण्ड भएर दैनिक सयौँ मोटरसाइकल, साना चारपाङ्ग्रे सवारी साधन, एम्बुलेन्स र पैदलयात्रीहरू आवतजावत गर्छन्।

प्रत्येक वर्ष वर्षायाम सुरु हुनासाथ यो सडक खण्ड टापु जस्तै बन्ने गरेको छ। यस क्षेत्रमा अन्य कुनै वैकल्पिक सडक वा डाइभर्सनको व्यवस्था नहुँदा स्थानीय नागरिकसँग जोखिम मोल्नुको अर्को विकल्प छैन।

“बजार जानै पर्छ, बिरामी पर्दा अस्पताल पुग्नै पर्छ; बाटो बन्द भयो भनेर घरमै भोकै बस्न सकिँदैन,” एक स्थानीयले आक्रोश पोख्दै भने, “ज्यान हत्केलामा राखेर खोला जस्तै बनेको सडक पार गर्न बाध्य छौं।”

बाढीको बहाव लगातार बढिरहेकाले हुलाकी राजमार्गको उक्त खण्डमा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने खतरा छ। तीव्र बहावका कारण साना सवारी साधन बगाउने जोखिम उच्च बनेको छ।

सम्भावित क्षति रोक्न उक्त स्थानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ। सुरक्षाकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा सूक्ष्म निगरानी राखिरहेका छन्। पानीको सतह र बहाव अझै बढेमा दुर्घटना टार्न तत्कालै आवतजावत पूर्ण रूपमा बन्द गराइने सुरक्षा स्रोतले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका अनुसार खोलामा जलस्तर अझै बढ्न सक्ने सम्भावना छ। वर्षा निरन्तर भइरहेकाले लालबकैया नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा सोही मार्ग प्रयोग गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न स्थानीय प्रशासनले अपिल गरेको छ।

यो समस्या राजपुरवासीका लागि नौलो भने होइन। मनसुन सुरु हुनासाथ लालबकैया खोलाले हुलाकी राजमार्गको यो खण्डलाई डुबाउने वा कटान गर्ने गर्छ। हिउँदमा सरकारी निकायले ध्यान नदिने र वर्षामा जनताले सास्ती भोग्नुपर्ने नियति वर्षौँदेखि दोहोरिँदै आएको छ।

स्थानीय बासिन्दा र नागरिक समाजले यो मौसमी सास्तीको दीर्घकालीन समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन्। समयमै स्थायी संरचना (उच्च पुल वा पक्की सडक) नबनाए कुनै पनि दिन ठूलो मानवीय विपत्ति आउन सक्ने चेतावनी स्थानीय अगुवाहरूले दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *