बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्य सडक अवरुद्ध: सात राष्ट्रिय राजमार्गमा आवागमन ठप्प
काठमाडौं। अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग र मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार काठमाडौं उपत्यकालाई जोड्ने मुख्य नाकाका रूपमा रहेका पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित कुल सात राष्ट्रिय राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ।
त्यस्तै, पूर्व-पश्चिम राजमार्गसहित छ वटा सडक खण्डमा भने एकतर्फी तथा आंशिक रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। विभागका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा खसेको पहिरो हटाई हाल सडकलाई एकतर्फी रूपमा खुला गरिएको छ भने पहिरो पन्छाएर दुवैतर्फी सञ्चालनमा ल्याउन भारी उपकरणहरू परिचालन गरिएको छ।
पृथ्वी राजमार्गको अवस्था पनि नाजुक बनेको छ। धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा ठूला पहिरो खसेका कारण दुवैतर्फी सडक अवरुद्ध भएको छ। हाल त्यहाँ पहिरो पन्छाउने कार्य तीव्र पारिएको छ। उता नारायणघाट-मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेर सडक ठप्प भएको छ र सो पहिरो हटाउने काम भइरहेको छ।
बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानहरूमा पहिरो खस्नुका साथै बाढीले डाइभर्सन नै बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ। निरन्तरको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले आज दिनभर सो सडकखण्ड सञ्चालन गर्न सकिने सम्भावना नरहेको सडक विभागले स्पष्ट पारेको छ।
यसैगरी, कान्ति राजमार्गको चपली र तकुर्चेलायत क्षेत्रमा खसेको पहिरोका कारण सवारी आवागमन रोकिएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिकै सडक भासिएपछि भित्तो कटान गरी हाल अस्थायी रूपमा गाडी सञ्चालन गरिएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे-हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौरहालगायतका ठाउँमा खसेको पहिरो र ढलेका रुखहरू हटाएर सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा-२ बैसेरी सिरुवारीमा खसेको पहिरो वर्षाका कारण पन्छाउन निकै कठिनाइ भइरहेको छ। सोही करिडोरको जैमिनी-८ बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी बाटो खुला गरिए पनि लामो दूरीका सवारी साधनलाई भने जान अनुमति दिइएको छैन।
तमोर करिडोरको मुलघाट–फिदिम खण्डअन्तर्गत छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक रूपमा अवरुद्ध छ। खोलामा पानीको बहाव बढ्दा सडक बन्द हुने र घट्दा खुल्ने अवस्था रहेको विभागले जनाएको छ।
राप्ती राजमार्गको कपुरकोट-खारखोला-टुनीकोट खण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल-दहीखोला खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ र पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ।
यस्तै, भालुवाङ-चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेर आंशिक अवरोध सिर्जना भएको छ, जहाँबाट साना सवारी साधनलाई सावधानीपूर्वक सञ्चालन गराउँदै पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ। बेसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ठूला ढुङ्गा खसेका कारण पहिरो पन्छाउन कठिन भई सडक पूर्ण रूपमा बन्द रहेको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडकमा आएका अवरोधहरू पन्छाएर यथाशीघ्र यातायात सेवा पुनः सञ्चालन गर्नका लागि उपकरण तथा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment